होमपेज > आज मिथिलाञ्चलमा भैयादुज पर्व मनाइँदै

आज मिथिलाञ्चलमा भैयादुज पर्व मनाइँदै

बिज्ञापन

महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन्। यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ। मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भन्ने चलन छ।

यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन्। अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ। यमपञ्चकमा पर्वत मूलका र मैथिल हिन्दूको पर्व मनाउने विधि र तरिका केही फरक भएपनि पौराणिक कथावस्तु भने एउटै देखिन्छ। सत्ययुगमा राजा बलिका बहिनीहरू गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टिका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा. राजेन्द्र विमल बताउँछन्।

मैथिल परम्पराको भैयादुज पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन नै छ। विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन्। पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन्। टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ। यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टिका लगाइ दिने मैथिल परम्परा छ।

मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको होस्भन्दै गीतबाट भाव व्यक्त गर्दछन्। यसैक्रममा सुकेको केराउको दाना दाजुभाइलाई चबाउन दिइन्छ। ‘बजरी’ ख्वाइने भनिने यो विधिमा सार्‍हो न सार्‍हो केराउलाई बज्रसँग तुलना गरेर ‘बजरी’ भनिएको डा. विमलको भनाइ छ। बजरी ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना रहेको उहाँले बताउँछन्। यो विधि सकिएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखी दिन्छन्। दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्टान्न भोजन गराएर पर्व सम्पन्न गर्छन्। यो विधि मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको आधारमा द्वितीया तिथिबाट शुभसाइत निकालिन्छ।

मिथिलामा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बढाउने तीनवटा पर्व परम्परा देखिन्छन्। साउन पूर्णिमाका दिन दाजुभाइलाई बाँधिने सप्तरङ्गी डोरा ‘राखी’ बाँधीदिने र यमपञ्चक अर्थात् तिहारको कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भैयादुजको कथावस्तु पौराणिक गाथामा आधारित राजा बलि र उनका दिदीबहिनी गङ्गा यमुना नै हुन्। कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्वभने द्वापरयुगकालीन भगवान श्रीकृष्णका पुत्र साम्ब र छोरी सामाबीचको प्रेमपूर्ण स्नेह, समर्पण र त्यागको कथावस्तुमा आधारित भएको बताइन्छ। मिथिलाञ्चलभरिका गाउँ सहरको चौबाटामा आज एकाबिहानै विभिन्न लोकगीत र नाचगान गर्दै दिदीबहिनीहरूले गाईको गोबर र केराउका दाना (बजरी)लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गर्ने चलन छ।

दिदीबहिनीहरुले ओखलमा गोबरसँगै कुटिएको केराउका दाना गोबरबाट झिकेर धोई पखाली आ–आफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै ‘बजरी’ खुवाउने गर्दछन्। दिदीबहिनीहरूले ‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’ अर्थात बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु भने भनाइका साथ दाजुभाइलाई आँगनमा बसाइँ माला, फूल, चन्दन लगाएर बजरी खुवाएर भैयादुज पर्व मनाउने परम्परा यहाँ चलिआएको जानकारहरू बताउँछन्।

मिथिलाञ्चलमा भैयादुज पर्व हर्षोल्लास र खुसीका साथ मनाउने गरेको र यस पर्वले दिदीबहिनी तथा दाजुभाइको सम्बन्ध अझै प्रगाढ बनाउने गरेको जलेश्वर नगरपालिका—१ स्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पूजारी उपेन्द्र पाठकले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार: प्रधानमन्त्री शाह
  2. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  3. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  4. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  5. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  6. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  7. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  8. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  9. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  10. १० सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  11. ११ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  12. १२ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  13. १३ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  14. १४ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  15. १५ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए