भुटान एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको पारोसम्म सिधा उडान मंगलबारदेखि औपचारिक रुपमा सुरु गरेको छ। पारोबाट पोखरा आएको उद्घाटन–उडानले फिर्ती क्रममा पोखराबाट नौ यात्रु लिएर भुटानतर्फ उडान भरेको विमान आउँदा भने खाली आएको थियो।
उडान शुभारम्भका अवसरमा पोखरा महानगरका मेयर धनराज आचार्य स्वयं भुटान जाने यात्रु बने। उनले उद्घाटन फ्लाइटमा केक काटेर कार्यक्रमको औपचारिकता पूरा गरे। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मेयर आचार्यले भुटान एयरलाइन्स र नेपालस्थित प्रतिनिधि युनिभर्सल टुर्स एन्ड ट्राभल्सले गरेका प्रतिबद्धताअनुसार निकट भविष्यमै नियमित उडान सञ्चालनमा आउने पूर्ण विश्वास व्यक्त गरे।
अक्टोबरबाट सुरु गर्ने योजना रहे पनि नेपालमा भएका जेनजी आन्दोलनका कारण कार्यक्रम स्थगित भई मंगलबार पहिलो उडान सम्पन्न भएको हो। भुटान एयरलाइन्सका अनुसार बाँकी नियमित सिधा उडान २०२६ अप्रिलदेखि पुनः सुरु गर्ने तयारी भइरहेको मेयर आचार्यले जानकारी दिए।

