सरकारले समस्याग्रस्त सहकारीका करिब ३८ हजार साना बचतकर्ताको बचत फिर्ता गर्ने योजना बनाएको छ। यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोषको परिकल्पना तयार पारेको छ।
मन्त्रालयको प्रस्तावअनुसार, समस्याग्रस्त सहकारीमा १ लाख रुपैयाँसम्म बचत भएका साना बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउनेछन्। उक्त चक्रीय कोषमा सरकारले २ अर्ब रुपैयाँ राख्नने।
अहिले मन्त्रालयले कार्यविधिसहितको प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ र अर्थ मन्त्रालयले यसलाई अध्ययन गरिरहेको छ। कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यसै आधारमा साना बचतकर्ताको पैसा फिर्ता गरिनेछ।
हाल समस्याग्रस्त सहकारीमा १ लाखसम्म बचत भएका साना बचतकर्ताको संख्या ३७ हजार ८ सय ६ जना रहेको छ। साना बचतकर्तालाई फिर्ता दिनुपर्ने रकम करिब १ अर्ब ८६ करोड ८४ लाख ९६ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ।

