
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार बिन्दुमा हुने चूहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका छन् । ७१औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार बिभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले पछिल्ला समयमा भन्सार बिन्दुबाट हुने चूहावट बढ्दै गएको र यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै चूहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका हुन् ।
भन्सार बिन्दुबाट कुनै बस्तुको आयात घट्ने तर बजार सोहि बस्तुको मौज्दात नै बढि हुने देखिएकाले यसले भन्सारका लिगल च्यानललाई चूनौति दिने काम भएको उनले बताए । उनले वैध व्यापारलाई प्रोत्साहन र चूहावट रोक्न भन्सार बिभागले गम्भीर भएर काम गर्नुपर्ने बताए । अर्थमन्त्री पौडेलले गत आर्थिक बर्षको यहि अवधिको तुलना गर्दा यस आर्थिक बर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी भएको भन्दै यस्तो आकडा सुनेरमात्रै बस्न सक्ने अवस्थामा सरकार नरहेको जिकिर गरे ।
राजस्व परिचालनमा कमी आउनुमा बिभिन्न तर्क सुनिने गरिएको भन्दै अर्थमन्त्री पौडेलले कुनै पनि तर्कले राजस्व संकलन गर्ने अभिभारा संकलन गर्ने जिम्मेवारीबाट उम्किन नमिल्ने धारणा राखे । राजस्व परिचालनको क्षेत्रको कमजोरीलाई समाधान गर्दै निष्ठा र कार्यक्षमतालाई प्रभावकारी बनाउँदै लक्ष्य भेटाउने काम गर्न उने निर्देशन दिए । भन्सार क्षेत्रलाई थप आधुनिकिकरणका योजना निर्माण गर्न पनि सरकार प्रतिवद्ध रहेको उनले बताए । अन्तर्राष्ट्रिय व्यापारमा प्रविधिमैत्री भएर अघि बढ्दा लागत कम हुने र व्यापारलाई सहजीकरण गर्न सकिने उनको भनाइ छ ।