२०८२ बैशाख ६ शनिबार

सर्लाहीको मलङ्गवा नगरपालिका–२ मा निर्माण गरिएको सुविधा सम्पन्न बसपार्क प्रयोगमा ल्याइएको छ । मलङ्गवा नगरपालिका –२ मा सङ्घीय सरकारको रु आठ करोड ३१ लाखको लागतमा निर्माण गरिएको उक्त बसपार्क करिब एक वर्षपछि सञ्चालनमा ल्याइएको हो ।

मलङ्गवा नगरपालिका–९ मा रहेको पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसँगै सवारी साधनको चाप बढेका कारण नयाँ बसपार्क निर्माण गरिएको थियो । नयाँ बसपार्कको निर्माण भएको करिब एक वर्ष हुनै लाग्दा पनि सरोकारवाला निकायले ध्यान नपुर्याउँदा बसपार्क प्रयोगविहीन अवस्थामा रहेको मलङ्गवा यातायात प्रालिका अध्यक्ष राजीव यादवले बताए ।

आफूहरु नयाँ बसपार्कमा जान तयार रहे पनि ठेकेदार कम्पनीले नगरपालिकालाई बसपार्क हस्तान्तरण नगरेको र नगरपालिकाले पनि चासो नदिँदा नयाँ बसपार्कमा जान नपाइएको उनको भनाइ थियो ।

बसपार्क निर्माण भए पनि सरोकारवाला निकाय एकले अर्काेलाई आरोप लगाउँदै लामो समयसम्म मलङ्गवा नगरपालिका¬–९ मा रहेको पुरानो बसपार्कबाटै बस सञ्चालन गरेका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले बताए । उनका अनुसार नयाँ बसपार्कबाट बस सञ्चालनमा ल्याउने विषयमा जिल्लाका यातायात व्यवसायीसँग पटक–पटक छलफल गरिए पनि कुनै निष्कर्ष निस्केको थिएन । केही यातायात व्यवसायीले नयाँ बसपार्कमा आफूहरु नजाने भन्दै नगरपालिकामा डेलिगेसन पनि आएका नगरप्रमुख यादवले बताए । तर नगरपालिकाले कार्याविधि नै बनाएर नयाँ बसपार्कबाट बस सञ्चालन गरेको छ ।

करिब २५ रोपनी क्षेत्रफलमा निर्माण भएको बसपार्कमा एकैसाथ ५२ वटा ठूला र २० वटा साना गरी ७२ वटा यात्रीबाहक सवारीसाधन पार्किङ गर्नसक्ने क्षमता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए ।

उनका अनुसार मलङ्गवा नगरपालिका– ९ मा रहेको पुरानो बसपार्कबाट बस सञ्चालन गर्दा ट्राफिक प्रहरीलाई व्यवस्थापनमा निकै समस्या हुने गरेको थियो । अढाइ तल्ले टर्मिनल भवन, शौचालय, खानेपानी, प्रतिक्षालय, वर्कसप, पार्किङलगायत सुविधा सहितको बसपार्क झापाको सुरुङ्गास्थित कन्काइ इन्टरनेशनल विल्डर्सले रु आठ करोड ३१ लाखको लागतमा निर्माण गरेको हो । नेपाल सरकारले ठूलो लगानी गरेर निर्माण गरिदिएको बसपार्क लक्ष्यअनुसार नै प्रयोगमा ल्याइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनका अनुसार राज्यले ठूलो रकम खर्चेर निर्माण गरिएको बसपार्कमा कुनै पनि बाहनामा जान्न भन्न नपाइने बताए । बस पार्कबाट बस सञ्चालनको क्रममा कुनै किसिमका समस्या आएमा सुरक्षाका लागि सबै शक्ति लगाउन तयार रहेको प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

नयाँ बसपार्कबाट बस सञ्चालनको क्रममा सुरक्षासम्बन्धी समस्या देखिएमा समाधानका लागि जिल्ला प्रहरी कार्यालय तयार रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय