
लोकप्रिय एप हाम्रो पात्रोमा डिजिटल वालेट ‘हाम्रो पे’ सुविधा थप भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै हाम्रो पात्रोले आफ्नै डिजिटल वालेट सार्वजनिक गरेको हो ।
यससँगै प्रयोगकर्ताले हाम्रो पात्रो एपबाट डिजिटल वालेट ‘हाम्रो पे’ प्रयोग गर्न सक्ने छन् । यसका लागि छुट्टै मोबाइल एप डाउनलोड गर्नुपर्ने छैन । एक करोडभन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रोमा डिजिटल वालेट उपलब्ध भएसँगै अब एपका सबै प्रयोगकर्ताले सहजै डिजिटल भुक्तानीमा पहुँच पाउन सक्नेछन् ।
हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ डिजिटल भुक्तानीको रूपमा हाम्रो पे ल्याइएको हाम्रो पे इंकका संस्थापक तथा सीईओ शंकर उप्रेतीले जानकारी दिएका छन् । ‘हामी हाम्रो पात्रोलाई सुपर एप बनाउन खोज्दैछौँ । प्रयोगकर्ताहरूले हामीलाई दिएको यतिधेरै विश्वासकै कारण हामी एउटै एपमा दैनिकीमा आवश्यक पर्ने सम्पूर्ण आवश्यकताहरूलाई समेट्न खोज्दैछौं’, उनले भने, ‘त्यसै अन्तर्गत हामीले हाम्रो आफ्नै डिजिटल वालेट ‘हाम्रो पे’ ल्याएका हौँ । यसले अनलाइन भुक्तानीलाई हाम्रा एक करोड प्रयोगकर्ता माझ पुर्याउने हाम्रो विश्वास छ ।’
खर्च ट्रयाक गर्न सकिने, मिलेर बिल तिर्ने (स्प्लिट एन्ड पे), साथीसँग पैसा सापटी माग्ने, ‘लाइभ च्याट सपोर्ट’ लगायतका मौलिक फिचर रहेको हाम्रो पे विभिन्न छ ओटा भाषामा प्रयोग गर्न सकिन्छ । नेपाल पेको क्यूआर राखिएको एपमा ३० भन्दा बढी बैंकबाट रकम लोड गर्न सकिने विकल्प उपलब्ध छ । अङ्ग्रेजीसँगै नेपाली, नेपाल भाषा, मैथिली, थारू र डोटेली रहेका छन् । हाम्रो पात्रोका अध्यक्ष रुद्र पाण्डेले ‘हाम्रो पे’ ले अनलाइन भुक्तानी प्रणालीलाई थप सहज तथा सरल बनाउने कुरामा आफू विश्वस्त रहेको बताए ।