
नेप्से सुचकांक निरन्तर घट्दा यसको असर बैंक तथा फाईनान्स कम्पनीहरुले सेयर धितो राखेर दिने कर्जा अर्थात मार्जिन लेण्डिङ लोनमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा सेयर धितो कर्जा गत आवको सोही अवधिको तुलनामा २४ अर्ब ८३ करोड रुपैंयाँले घटेको छ ।
नेप्से सुचक २०७८ पुसमा २८ सय ५७ अंकमा कायम रहेको थियो । नेप्सेले यो कायम गर्दा बैंक तथा फाईनान्स कम्पनीहरुले सेयर धितो लिएर ९९ अर्ब ७० करोड २० लाख रुपैंयाँ कर्जा दिएका थिए ।
तर चालु आवको पछिल्लो छ महिना अर्थात २०७९ पुसमा नेप्से सुचकाँक घटेर २१ सय ४९ अंकमा खुम्चिएको छ । यस अवधिमा भने बैंक तथा फाईनान्स कम्पनीहरुले जम्मा ७४ अर्ब ८७ करोड २० लाख रुपैंयाँ कर्जा दिएका छन् । बैंक तथा फाईनान्स कम्पनीहरुले सेयर धितो शिर्षकमा दिएको यो कर्जा गत आवको सोही अवधिको तुलनामा २४ अर्ब ८३ करोड रुपैंयाँले कम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
सेयर बजार ओरालो लाग्दा बाँणिज्य बैंकहरुले दिने सेयर धितो कर्जा निकै नै घटेको छ । राष्ट्र बैंकका अनुसार गत आवको पुस मसान्तमा सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंकहरुले सेयर धितो शिर्षकमा मात्र ८३ अर्ब ७० करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए । तर अहिले बाँणिज्य बैंकहरुले यस्तो कर्जा घटाएर ५८ अर्ब ४० करोड ५० लाख रुपैंयाँमा सिमित राखेका छन् । बाँणिज्य बैंकहरुले सेयर धितो कर्जा घटाउँदा बिकास बैंकहरुले भने बढाएका छन् । गत आवको पुस मसान्तमा बिकास बैंकहरुले सेयर धितो लिएर १२ अर्ब १९ करोड ४० लाख रुपैंयाँ कर्जा दिएका थिए । चालु आवको पुस मसान्तमा भने बिकास बैंकहरुले यस्तो कर्जा बढाएर १२ अर्ब ६६ करोड ९० लाख रुपैंयाँ पुर्याएका छन् ।
राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुले भने २०७८ पुस मसान्तमा सेयर धितो लिएर तीन अर्ब ८० करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए । चालु आवको पुस मसान्तमा भने फाईनान्स कम्पनीहरुको यस्तो कर्जा तीन अर्ब ७९ करोड ८० लाख रुपैंयाँमा सिमित भएको छ ।
बिवरण २०७९ पुस मसान्त २०७८ पुस मसान्त फरक
बाँणिज्य बैंक ५८४०५ ८३७०५ २५३००
बिकास बैंक १२६६९ १२१९५ ४७५
फाईनान्स ३७९८ ३८०९ ११
कुल ७४८७२ ९९७०२ २४८३०