
स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गर्नुभएको छ । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाउनुभएका उहाँ तीन वर्षदेखि यो पेसामा आबद्ध छन् । अत्यधिक माग हुन थालेपछि उहाँले व्यावसायिकरूपमा सयपत्री फूलको खेती गर्दै आएका हुन् ।
रानाले स्याङ्जासहित पाल्पा, पर्वत, कास्कीलगायतका जिल्लामा वार्षिकरूपमा रु दुई लाख बराबरको सयपत्री फूल निर्यात हुने गरेको जानकारी दिए । “सिजनमा मासिक रु २० देखि ३० हजार बराबरको फूल तथा माला बिक्री हुन्छ”, उनले भने, “अफसिजनमा पनि विभिन्न सङ्घसंस्थाको कार्यक्रम, पूजाआजाका लागि मासिक रु १५ देखि २० हजारको फूल तथा माला बिक्री हुने गरेको छ ।”
सुरुमा आफ्नै घर रुपाखानीमा फूलखेती गर्नुभएका उहाँले कारोबार राम्रो भएपछि दुई वर्षयता गल्याङ नगरपालिका–३ छर्तिमा १२ रोपनी जग्गा भाडामा लिएर सयपत्री फूलको खेती गरेका छन् । सयपत्री फूलको बजार राम्रो पाएपछि हौसिएका रानाको दिनचर्या बिहान ५ बजेदेखि साँझ आँखा देखुन्जेल फूलबारीमै बित्छ ।
परम्परागतरूपमा खेती गर्दै आए पनि व्यावसायिक र बेमौसमीरूपमा सयपत्री फूलखेती नगरेको उनले सामाजिक सञ्जाल र कृषि विज्ञको सल्लाहमा काम गर्न सिकेको बताए । रुपाखानीमा खेती गर्दा परिवारको साथ पाउनुभएका उनले छर्तिमा भने एक्लै काम गर्छन् ।
“कहिलेकाहीँ काम धेरै भएका बेला ज्यालामा पनि खेतला लगाउने गरेको छु”, उनले भने, “एक्लै भए पनि काम गर्न आनन्द लाग्छ, ढकमक्क फुलेका फूलको सुगन्धले एक्लोपनको आभास नै गराउँदैन ।”
रानाले विवाह, पूजा, विभिन्न सङ्घसंस्थाको औपचारिक तथा अनौपचारिक कार्यक्रममा उत्पादन गरेको सयपत्री फूलको माला खपत हुने गरेको बताए । उनले अन्य जिल्लाबाट गल्याङमा सयपत्री फूल निर्यात हुने गरेको भन्दै त्यसलाई निरुत्साहित गर्न व्यासायिक फूलखेती सुरु गरेको बताए ।
“गल्याङ नगरपालिकाका विभिन्न स्थानमा बाँदरले कृषकलाई आतङ्कित बनाएको छ”, उनले थपे, “फलफूल, तरकारी खेती पनि गरेँ तर बाँदरले रहन दिएन, बाँदरले नबिगार्ने भएपछि सयपत्री फूलखेतीतर्फ आकर्षित भएको हुँ ।”
उनले आफ्नो खेतमा उत्पादित फूलले बजारको माग पूरा गर्न नसकेको बताए । गल्याङमा कृषक फूलखेतीतर्फ आकर्षित नभएकाले बजारीकरणमा समस्या नभएको दाबी गरे । उजले गल्याङमा सयपत्री राम्रो उत्पादन हुने भन्दै हब नै बनाएर अन्यन्त्र जिल्लामा निर्यात गर्न सकिने जानकारी दिए ।
“व्यवसायलाई विस्तार गर्ने योजना बनाएको छु, अहिलेसम्म कुनै पनि निकायले अनुदान दिएका छैनन्, बैंकमा ऋण खोज्दा नपाउने स्थिति छ । उनले दुःखेसो पोखे, “प्रशस्त बजार भएर पनि लगानी अभावमा व्यवसाय विस्तार गर्न सकेको छैन ।”
गल्याङ नगरपालिकाका कृषि शाखा प्रमुख शिव ढकालले चन्द्रबहादुर राना गल्याङका एकमात्र सयपत्रीको व्यावसायिक फूलखेती गर्ने कृषक भएकाले प्राविधिक सहयोगका साथै उपयुक्त सल्लाह दिने गरेको बताए । यस्तै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले रानाको गल्याङमा सफल कृषकको पहिचान भएकाले नगरपालिकाले अनुदानलगायतका कार्यक्रम सहयोग गर्ने योजना बनाएको बताए । रानाको सयपत्रीको फूलबारीमा सर्वसाधारण फोटो खिच्न र टिकटक बनाउनसमेत पुग्ने गरेका छन् ।