
बीमा क्षेत्रमा कार्यरत कुल कर्मचारी संख्या घटेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा बीमा कम्पनीहरुमा कार्यरत कुल कर्मचारी संख्या गत आवको सोही अवधिको तुलनामा चार दशमलव ९६ प्रतिशतले घटेर ११ हजार दुई सय ८६ जनामा सिमित हुन पुगेको हो ।
गत आवको सोही अवधिमा भने बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको कुल संख्या ११ हजार आठ सय ७५ जना रहेका थिए । पछिल्लो समय धेरै वटा बीमा कम्पनीहरुले मर्जर मार्फत एकीकृत कारोबार सुरु गरेकाले पनि कर्मचारी संख्यामा केही कमी आएको हुन सक्छ, प्राधिकरणले भनेको छ । प्राधिकरणका अनुसार पछिल्लो समय मर्जर कै कारण बीमा कम्पनीहरुको संख्या घटेर ३१ वटामा सिमित भएको छ ।
जसमध्ये जीवन बीमातर्फ १५ वटा , निर्जिवन बीमतर्फ १४ वटा र पुर्नबीमातर्फ दुई वटा कम्पनीहरु सञ्चालनमा रहेका छन् । यसअर्थमा बीमा कम्पनीहरुको संख्या घटेकै कारण कर्मचारीहरुको संख्या पनि घटेको हो, प्राधिकणले भनेको छ । प्राधिकरणका अनुसार चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्क एक खर्ब ४६ अर्ब ७९ करोड ९३ लाख ५५ हजार रुपैंयाँ पुगेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा तीन दशमलव ३६ प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा भने बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन रकम एक खर्ब ४१ अर्ब ५९ करोड ९२ लाख ४० हजार रुपैंयाँ रहेको थियो । प्राधिकरणका अनुसार जीवन बीमा र निर्जिवन बीमा कम्पनीहरुले बीमालेख बिक्री गरेर यस्तो रकम संकलन गरेका हुन । चालु आवको पछिल्लो अवधिमा जीवन बीमा कम्पनीहरुले जारी गरेको कुल जीवन बीमालेखको संख्या भने एक करोड ३८ लाख ८३ हजार तीन सय ५७ पुगेको छ । प्राधिकरणका अनुसार यो बीमालेख गत आवको सोही अवधिको तुलनामा १२ दशमलव २२ प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा भने यस्तो जीवन बीमालेखको संख्या एक करोड २३ लाख ७१ हजार छ सय ९१ रहेको थियो । निर्जिवन बीमा कम्पनीहरुले जारी गरेको कुल निर्जिवन बीमालेखको संख्या भने पछिल्लो अवधिमा २३ लाख ५० हजार छ सय ५२ पुगेको छ । यो संंख्या गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव १० प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार गत आवको सोही अवधिमा भने कुल निर्जिवन बीमालेखको संख्या २३ लाख ४८ हजार दुई सय ३२ वटा रहेको थियो ।