
नेपाल बिमक संघले कृषि बीमा कार्यक्रम पुन: शुरु गरेको छ । संघले बिज्ञप्ती जारी गर्दे सोमबारबाट नैं यसअघि रोकिएको कृषि बीमा कार्यक्रम पुन: शुरु गरेको हो । कृषि बीमा कार्यक्रम शुरु गरेको बिषयमा संघले बिज्ञप्ती मार्फत जानकारी दिंदै भनेको छ, नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमा शूल्कमा क्रमशः अनुदान दिँदै आएकोमा २०७७ सालदेखि कृषि बीमाको अनुदान करिब तीन अर्ब बाँकी रहेको थियो । बीमकहरुले अनुदान रकम पाउन बारम्बार पहल गर्दा समेत विभिन्न बहानामा अनुदान रोकिएको हुँदा बीमक संघको निर्णयमा मिति २०८०-०२-०७ गते देखि कृषि सम्बन्धी बीमालेख जारी गर्न बन्द गरिएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केहि आंंशिक रकम उपलब्ध गराई मिति २०८०-०२-३० मा माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरुको संयुक्त सहभागीतामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्घता भएको र बीमालेख जारी गर्न आग्रह भएकोले यहि मिति २०८० साल अषाढ मसान्त सम्मको लागि आजैका मितिदेखि बीमालेख जारी गर्ने कार्य सुचारु गर्ने नेपाल बीमक संघले निर्णय गरेको सबै सरोकारबालाहरुलाई जानकारी गराउँदछौं, संघले भनेको छ ।
संघले कदाचित उक्त समय भित्र अनुदान रकम प्राप्त नभएमा पुनःबीमालेख बन्द गरिने समेत अवगत जानकारी गराएको छ । तसर्थ नेपाल सरकार , कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभागहरु तथा नेपाल बीमा प्राधिकरणलाई कृषि बीमा वापतको अनुदान तत्काल उपलब्ध गराउन सहजता अपनाई पहल गरि दिन समेत संघले आग्रह गरेको छ । संघले बिज्ञप्ती मार्फत बीमालेख जारी गर्न तथा दावी भुक्तानी गर्न स्थगन गरेबाट बीमित तथा दावीकर्ताहरुमा पर्न गएको असर प्रति क्षमा मागेको छ ।