२०८१ चैत्र १० आईतवार

पछिल्ला दिनहरुमा अन्तर बैंक कारोबारको ब्याजदर लगातार घटीरहेको छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि ह्वात्तै घटेको हो । हाल अन्तर बैंक ब्याजदर प्रतिशतभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले यस्तो ब्याजदर घटेर ३.६४ प्रतिशतमा झरेको छ । यसअघि अन्तर बैंक ब्याजदर ४ प्रतिशत थियो ।

एकै दिनमा त्यो ०.३६ प्रतिशत बिन्दुले घटेको हो । विशेषगरि बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर घटेको हो । बैंकहरुमा तरलता अभाव हुदाँ निक्षेप, कर्जाको ब्याजदर पनि उच्च थियो । त्यसबेला बैंकहरुले एक अर्कामा सापटी लिने पैसाको व्याजदर अर्थात् अन्तर बैंक ब्याजदर पनि बढेको थियो । गत फागनुमा यस्तो ब्याजदर बढेर ८.५ प्रतिशतसम्म पुगेको थियो ।

चैत र बैशाखमा भने त्यो ७ प्रतिशत हारहारी थियो । तर, जेठको दोस्रो साताबाट अन्तर बैंक ब्याजदर घट्न थालेको थियो । हालसम्म आउँदो त्यो साढे ४ प्रतिशतको हाराहारीमा आएको राष्ट्र बैंकको भनाइ छ । यद्यपि, यसअघि गत माघमा पनि अन्तर बैंक ब्याजदर ४ प्रतिशतसम्म झरेको थियो । त्यसपछि भने बढेको थियो । तर, पछिल्ला दिनहरुमा निरन्तर घटी रहेको छ । अहिले बैंकहरुमा निक्षेप बढ्दै गएको छ । तर, कर्जाको माग भने अझै बढेको छैन । त्यसले गर्दा बैंकहरुमा पैसा थुप्रीदै गएको छ । यसरी तरलता बढेपछि अन्तर बैंक कारोबार पनि छैन । त्यसले गर्दा यस्तो ब्याजदर घटेको हो ।

हाल बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । पछिल्लो एकदिनमै बैंक तथा वित्तीयको निक्षेप ४ अर्ब रुपैयाँले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्म आईपुग्दा बैंकिङ्ग प्रणालीमा ५५ अर्ब ६७ अर्ब रुपैयाँ निक्षेप पुगेको थियो । गत बुधवारसम्म आईपुग्दा वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ४ अर्बले बढर ४९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । तर, त्यसको अघिल्लो दिन भने बैंकहरुको निक्षेप ४९ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो ।

निक्षेप बढेपछि कर्जा लगानी भने ठप्प नै छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ५६ अर्ब रुपैयाँ छ । पछिल्लो समय कर्जा लगानी हुन सकिरहेको छैन । बुधवारसम्मको तथ्याङ्क अनुसार त वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ । गत मंगलबारसम्म ४२ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो । तर, बुधवारसम्म आईपुग्दा ४२ खर्ब ९९ अर्ब मात्रै कर्जा लगानी भएको देखिएको छ ।

सीडी रेसियो ८४ प्रतिशत तल

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि क्रमिक रुपमा सुधार हुँदै आएको छ । अहिले यस्तो अनुपात ८४ प्रतिशत भन्दा तल झरेको छ ।

एक दिनमै सीडी रेसियो शून्य दशमलव ६ प्रतिशतले घटेको छ । योसंगै हाल बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८३.९६ प्रतिशत कायम भएको छ । गत मंगलबारसम्म भने सीडी रेसियो ८४.०२ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरु हाल कर्जा लगानीका लागि सहज अवस्थामा देखिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय