
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बिहीबारको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको हो । त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो । बुधबार बैठक बसेर बिहीबार नतिजा सार्वजनिक गर्ने भनिएपनि बुधबार त्रुटि सच्याउन भन्दै बैठक बस्न सकेको थिएन । यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।
सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए । एसईईमा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।
नतिजा हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस् अनि आफ्नो सिम्बोल नम्बर र जन्म मिति राखेर नतिजा हेर्नहोस् – https://see.ntc.net.np/results/grade
निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ । दुई विषयसम्म नन् ग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ ।
एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावक जतिसक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् । तर, नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौँतारिने गर्छन् ।
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसईईको नतिजा सहजै हेर्ने व्यवस्था गरिएको बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले जानकारी दिए । वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिने उनले बताए । १६०० मा डायल गरी प्राप्त निर्देशनानुसार नतिजा जान्न सकिने व्यवस्था गरिएको छ ।
यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था गरिएको उनले बताए । एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ ।