
पछिल्लो एक वर्षको अवधिमा मात्रै ३२ लाख २३ हजार ६८७ थान ई-सिग्रेट नेपाल भित्रिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्कअनुसार ई-सिग्रेट तथा भास्पोराइजिङ डिभाइस नाम दिइएका सामग्री भित्रिने दर पछिल्लोसमय ह्वात्तै बढेको हाे । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा छ लाख १४ हजार ३५६ थान भित्रिएको विद्युतीय चुरोटको आयात यस वर्ष झन्डै पाँच गुणाभन्दा बढीले वृद्धि भएको छ ।
त्यसो त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याइएको ई-सिग्रेटमा १९ किलो सुन ल्याइएको विषय यसअघि नै सार्वजनिक भइसकेको छ । गत आर्थिक वर्षमा यसका लागि २१ करोड ३९ लाख १४ हजार रुपैयाँ विदेशिएको छ भने राज्यले त्यसबाट १३ करोड ४६ लाख ८५ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।