
नेपाल बैंकर्स संघले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित भएको बताएको छ । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत मौद्रिक नीतिको बचाउ गर्दै बैंकर्स संघले चालु आर्थिक वर्ष २०८० ८१ को मौद्रिक नीति सन्तुलित भएको बताएका हुन् ।
‘आर्थिक वर्ष ०७७÷७८ मा ८०० अर्ब माथिको कर्जा विस्तार हुँदा त्यस यताका वर्षमा ४७३ अर्ब भन्दा बढी भएकै छैन । चालु आर्थिक वर्षको लक्ष्य भेट्न पनि ७०० अर्ब कर्जा विस्तार गर्नुपर्छ ।’, उनले भने, ‘४.५ प्रतिशतमा निक्षेप संकलनको दर र ७।५ प्रतिशत बैकदरले मुद्रा बजारमा हुने उतारचढाव नियन्त्रण गर्छ ।’
त्यस्तै, व्यवसायीहरुले ब्याजदर बढी भएको भन्ने गरेको भए पनि बैंकहरुमा ब्याजदर घट्दो क्रममा रहेको पनि अध्यक्ष केसीले बताएका छन् । अर्थतन्त्र चलायमान हुँदै गएको र बैंकिङ प्रणालीमा तरलता संकट सुध्रिँदै गएकोले बैंकहरुको ब्याजदर अझ घट्ने पनि उनको भनाइ रहेको छ ।नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउने व्यवस्था सकारात्मक रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलब्ध गराउने गरी ल्याइएको नयाँ व्यवस्था सकारात्मक रहेको बताएका हुन् ।
चालू आर्थिक वर्षका लागि पाँच खर्ब ६२ अर्ब बराबरको कर्जा विस्तार उत्पादनशील र साना तथा मझौला उद्योगमा लैजानसके त्यसले अर्थतन्त्रको सुधारमा योगदान पर्याउने उनले बताए । त्यस्तै, बैंकिङ क्षेत्रको सम्पत्तिको गुणस्तर मूल्याङ्कन गर्ने, कर्जा जोखिम न्यूनीकरण गर्ने र समष्टिगत आर्थिक उत्तारचढावका कारण वित्तीय क्षेत्रमा आउन सक्ने दबाब आँकलन गर्न माइक्रो स्ट्रेस टेस्टिङ फ्रेमवर्क ल्याउने गरी मौद्रिक नीतिको व्यवस्था पनि सकारात्मक रहेको अध्यक्ष केसीले बताए ।