
पेशाले सुरक्षाकर्मी,जस्को हातमा बन्दुक छ तर शब्द र अक्षरसँग पनि घनिष्ट छ, साइनो÷ सम्बन्ध छ । नेपाली सेनाबाट रिटायर्ड जनरल राजेन्द्र थापाका दर्जनौं गीतहरु चर्चित छन् । उपन्यास,कथा,गजल, मुक्तक उनले साहित्य श्रृजनामा हात नहालेको ठाउँ छैन । उसो त सेना तथा प्रहरीको जागिरेलाई नेपाली समाजमा कडा स्वभावको मानिने गरिएको छ । साहित्य क्षेत्रमा लाग्नेको स्वभाव नरम हुन्छ भनिन्छ । थापाझैं आनन्द अधिकारी पनि राष्ट्रियस्तरकै चर्चित गीतकारमा गनिन्छन् । यस्तै सशस्त्र प्रहरीका गैरे सुरेश झैं राजुबाबु श्रेष्ठ,पार्वती थापा पनि चर्चित छन्,साहित्य र श्रृजनामा होमिएर । उनै अग्रजहरुको झैं एक हातमा बन्दुक समाएर अर्काे हातले साहित्य श्रृजनामा सक्रिय छन्,सीपी गौतम अर्थात,चन्द्र प्रकास गौतम जो सशस्त्र प्रहरीका एआइजीमा बहालरत छन् । सशस्त्र प्रहरीको जिम्मेवारी पूरा गर्दै बाँकी रहेका र बचे खुचेका समय उनी साहित्य र श्रृजनामा घोतलिन्छन् ।
जन्मिए ताप्लेजुङमा बाल्यकालको अधिकांश समय तेह्रथुमको आठराईमा बिताए । आमाको एकल अभिभावकत्वमा हुर्किएका गौतमलाई बुवाले दिने माया, मार्गनिर्देशन र अभिभावकत्व कस्तो हुन्छ अहिलेसम्म थाहा छैन । भन्छन्,‘संसारमा सबै सन्तानले उस्तै भाग्य बोकेर आएका कहाँ हुन्छन र ? भाग्यलाई दोष दिनु भन्दा नियतिको खेल नै यस्तै होला सायद ।’
अन्य बालकझैं हुर्किए धुलो माटो र हिलो मैलोसँगै बनपाखा, भिरतिर डुलेर । बाल्यकालमा अलिक चन्चले, श्रृजनशील, तीक्ष्ण बुद्धिको र अरु भन्दा अलि फरक साथैं एकोहोरो र जिद्दी पनि थिए रे गौतम,उनको आमाको अनुसार । पढाइमा उत्कृष्ट थिए यद्यपि फिरन्ते पनि बन्यो कहिले तेह्रथुम उक्लिए कहिले झरे झापा । एसएलसी दिँदासम्म फेरिरहे विद्यालय । ०४३ सालमा एसएलसी दिएपछि पनि यो गति फेरिएन । एसएलसीमा राम्रो अंक आएपछि उनले विज्ञान रोजे । विज्ञान पढ्ने सपना पूरा गर्न उनी काठमाडौं खाल्डो उक्लिए । काठमाडौं आएर अमृत साइन्स क्याम्पसमा इन्ट्रान्स दिए, पास पनि भए । भर्ना भए, तर विडम्बना काठमाडौंको भीडमा उनी टिक्न सकेनन्,आर्थिक अभाव उक्लियो पहाड बनेर । आईएससी प्रथम बर्ष पनि पूरा नगरी उनी राजधानी छोडेर महेन्द्र मोरङ क्याम्पस विराटनगर पुगे ।
आइएस्सीको परीक्षा सकेर उक्लिए मावली गाउँ तेह्रथुमको आठराई । त्यहाँ शिक्षकको नयाँ परिचय बनाए । आइएस्सी सकेपछि उनलाई डाक्टर बन्ने रहर थियो । मेडिकलको तयारीमा लागे तर जीवन सोचेको यर्थाथ कम र नसोचेको यर्थाथ ज्यादा हो । डाक्टर नबन्ने भएपछि बिएस्सी पढ्नु नै थियो । फेरि जोडिए अस्कलमै । यतिबेला उनको परिवार झापामा बसाईं सरिसकेको थियो । राजधानीमा टिक्नका लागि मदन उप्रेती र नवीन देउजाले बागबजारमा ‘एबिसी ट्युसन सेन्टर’ खोलेर अंग्रेजी भाषासहितको ट्युसन पढाउन प्रारम्भ गरें ।
सेनाको जागिर
ट्युसन सेन्टरमा पढाउन थालेपछि उनको जीवनमा आर्थिक सम्पन्नताको नयाँ रेखा कोरियो । अब उनको जीवनको अभावको त्यो गोेरेटो मेटिँदै थियो । २ वर्ष ट्युसन र अंग्रेजी भाषा पढाउँदै गर्दा क्याम्पसको अध्ययनले पनि उचाई लिँदै गयो । मास्टर्स पढ्न त्रिभुवन विश्वविद्यालयको क्यामेस्ट्रीमा भर्ना भए । पढाईको गतिले उचाई लिँदै गर्दा करियर बनाउनु पर्ने पनि उमेर थियो । ०५१ सालमा अर्गानिक केमेस्ट्रीमा एमएससीको पढाई सकेपछि लोकसेवा भिडे । तर, लिखित परीक्षा उत्तीर्ण भएपछि तत्कालीन शाही नेपाली सेनाको सहायक सेनानीमा भर्ना भए । खरिपाटीमा तालिम गरिराखेका बेला विदेशमा तालिमका लागि छनौट भए । उनी भारतको देहरादुनमा अधिकृत तालिम सकेर नेपाल फर्किए । त्यो बेलामा केमेस्ट्री बिषयमा मास्टर्स सकेको मान्छे सेनामै किन भर्ना भएको भनेर प्रश्न गर्नेहरु पनि थिए । ‘आर्मी भएर राष्ट्र सेवा गर्नु भनेको कति गौरवको कुरा हो भन्ने कुरा कि उसैले बुझेको हुन्छ कि त उसको परिवारले’,उनले यसरी आफू हिँडेको बाटोलाई व्याख्या गरे, ‘मैले नेपाल आर्मीको इतिहास पढेको थिएँ । राष्ट्रको गौरव बढाउन सेनाको भूमिका छ । नेपालको इतिहासमा आर्मीको छुट्टै पहिचान र सम्मान छ। यस्तो सम्मानित क्षेत्रमा मेरो प्रवेश गौरवको कुरा थियो ।’
करिव ५ वर्ष नेपाली सेनामा बिताएपछि संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा पहिलोपटक पूर्वी टिमोरमा शान्ति स्थापानार्थ उडे । पूर्वी टिमोरमा रहँदा मिलिसियासँगविरुद्धको अभियानमा फिल्ड कमान्डरका रुपमा जिम्मेवारी पुरा गर्दै त्यहाँका जनतालाई सुरक्षा प्रदान गरेको अनुभव उनीसँग छ ।
आर्मीमा सह–सेनानी (क्याप्टेन) रहेका उनी सशस्त्र प्रहरीको डिजाइजी कसरी बने त ? चासो लाग्नु स्वभाविकै हो । पंक्तिकारले गौतमलाई यही कुरा सोध्यो, ‘किन नेपाल आर्मी छोडेर शसस्त्र प्रहरीमा त?’ उनी सशस्त्रको यात्राको तात्पर्य यसरी खुलाउँछन्,’मिसनबाट फर्केपछि तत्कालीन सरकारले भर्खरै सशस्त्र प्रहरी बल स्थापना गरेको थियो । तत्कालीन आइजी कृष्णमोहन श्रेष्ठले मलाई सशस्त्रमा आउन सल्लाह दिनुभयो । मलाई सानैदेखि नयाँ कुरा, नयाँ अनुभव र प्रयोग गर्ने उत्साह थियो। नयाँ ठाउँमा नयाँ पहिचान बनाउने सोच भएकैले नयाँ परिवेश र नयाँ म्यान्डेट भएको सशस्त्र प्रहरी बलमा साथ डीएसपीका रुपमा प्रवेश गरेको हुँ।’
सशस्त्रमा पनि शान्ति मिसन
सशस्त्र प्रहरी बलमा आएपछि द्वन्द्वकालमा देशका विभिन्न क्षेत्रमा पुगे । त्यसका अलवा उनी शान्ति मिसनका लागि विश्वका विभिन्न देशहरुको यात्रा गरे। हुन त पहिलोपटक सन् १९९९ मा पूर्वी टिमोरमा शान्ति सेना बनेर उनी पुगेका हुन्। त्यहाँ शान्ति स्थापनाका लागि ७ महिना बसेका थिए ।
दोस्रो पटक उनी २००२ मा इराक पुगेका थिए। तर अमेरिकाले इराकमा हमला गर्ने भएकाले ७ महिना बसेर ‘एभाकुएसन’ भएर साइप्रस हुँदै नेपाल फर्किए। तेस्रोपटक २००७ मा उनी पूर्वी टिमोर पुगेर दुई वर्ष राष्ट्र संघीय पुलिसको महत्वपूर्ण जिम्वेवारी पूरा गरेर फर्किए ।
चौथो पटक सन् २०१० मा सशस्त्र प्रहरी बलको फर्म्ड पुलिस कमान्डरको रुपमा उनी लाइबेरिया पुगे । पाँचौ मिसनका रुपमा उनी संयुक्त राष्ट्र संघको मुख्यालयले संचालन गर्ने ग्लोबल प्रतिस्पर्धामा राष्ट्र संघको पी–४ पदमा २०१५ मा छनौट भइ सुडानस्थित डार्फरको चिफ अफ अपरेसन पी–५ भइ ३ वर्ष बसे ।
राष्ट्र संघ अन्तर्गत काम गर्ने शिलशिलामा उनी विश्वका ७२ देश पुगे । विभिन्न तरिकाले विभिन्न देश गएका उनी कुनै पनि देश आफैंमा खराब नहुने अनुभव पाएको बताउँछन्। युद्धको चपेटामा परेका देशमा शान्ति स्थापना र त्यहाँ जनतालाई सुरक्षित राखी मानवता बचाउनका लागि हुन्छ राष्ट्र संघीय शान्ति मिसन। उनी भन्छन्, ’कुनै पनि देश सीमाले छुटिएको होला । तर भावना उस्तै हुन। झर्ने आँसु त उस्तै हु्न्। चोट सहने शरीर उस्तै हो । यसकारण सुरक्षा फौजका लागि जुनसुकै देशका नागरिक किन नहुन् पहिलो प्राथमिकता उनीहरुको जीवन र मानवताको रक्षा नै हो।’
आमा नै मेरो ‘इन्सिपिरेसन’
काम गर्ने कर्मशीलहरु सत्कर्ममा विश्वास गर्छन्। भाग्यमा कदापि होइन्। उनको बुझाई छ, ‘सत्कर्म गर्नुस्। भाग्य आफैं बन्छ।’ पढाई सम्पन्न गर्न लामो संघर्षपूर्ण दौडधुप गरे उनले । आफ्नो ऊर्जाशील समयमा यदि सहज वातावरण भइदिएको भए वा दरिलो अभिभावकत्व पाएको भए बचपन फिरन्ते हुँदैन थिए कि भनिठान्छन् उनी। यद्यपि जति भौतारिएर पनि जस्तो अप्ठेरो परे पनि आफूले कहिले पनि गलत बाटो चाहिँ नसमातेको बताउँछन्। सायद मेरो अवस्था वा पारिवारीक स्थितिले पनि आफूले भविष्यमा केही गर्नुपर्छ भन्ने लाग्थ्यो उनलाई। किनभने उनको आमाको एक मात्र आशाका किरण थिए ।‘मेरो जिन्दगीको ‘इन्स्पिरेसन’ कोही हो भने त्यो मेरो आमा नै हुन्। चर्को अभाव, भोक र शोकमा पनि जिन्दगीलाई कसरी लयमा हिँडाउने भन्ने कुरा मैले आमाबाट नै सिकेको हुँ’ ।
यिनै गौतम सांगितिक फाँटमा समेत चर्चा परिचर्चा छ,उनले पहिलो एल्वम निकाले “आश” । जस्को व्यापक चर्चा र परिचर्चा भयो प्रहरी संगठनभित्रै । नेपाल प्रहरी र सशस्त्र प्रहरीमात्र होइन सेवाभन्दा बाहिरका धेरैले यो गीतलाई सिआरबीटी बनाए ।
उक्त गीतले विन्ध्यावासीनी म्युजिक अवार्ड हात पार्यो, सर्वोत्कृष्ट उपाधि चुम्न सफल रह्यो आश । जे काम गर्छौ, त्यो पुरा नहुञ्जेलसम्म उनको ध्यान त्यतैतिर जान्छ । उनी शसस्त्र प्रहरीमा उच्च पदको जिम्मेवारीमा रहेपनि उनको लेखन कार्यको छुट्टै स्थान रहँदै आएको छ । बन्दुकमात्रै होइन पहिल्यैदेखि उनको हातमा कलम थमाएकी छिन् सरस्वतीले । ६ गीत समावेश एल्बममा सत्य राज आचार्य, स्वरूप आचार्य, मनोज राज, अन्जु पन्त र निशा देसारले स्वर दिएका छन् । गैरे सुरेशले संगीत भरेका छन्। पाँच गीत मायाप्रेममा आधारित छन् भने अन्तिम एउटा देशभक्तिपूर्ण नेपाली हौं युग युग नेपाली, मातृभूमि रक्षार्थ हरदम छाति थापिरहन्छौं, यो ज्यान जाओस् यो प्राण जाओस् तर देश बच्नुपर्छ, हामी स्वाभिमानी नेपाली हौं, स्वतन्त्रता चाहन्छौंै, पोखरी बन्यो हेर आँशु बगेर मेरो, भुल गरे तिमीलाई आफ्नो सम्झेर, सधैं मुटु दुखाउन किन माया लगाउनु, सशस्त्र प्रहरी बल नेपालको दशैं गित घाम लाग्यो घमाईलो ए हजुर फौजी घर रमाईलो, हामी ए.पी.एफ. जस्ता धेरै गीतहरु रहेका छन् । साहित्यले समाजलाई प्रतिबिम्बित गरि प्रगति र विकासतर्फ निर्देशित गर्नु पर्छ भन्ने धारणा राख्छन् उनी। तर, उनी पूर्णकालिन लेखक भने होइनन्। साहित्य संवेदना भन्दा बाहिर लेखिँदैन र लेखिनु हुन्न भन्ने उनको बुझाई छ। कहिलेकाही उनी गीत लेख्दछन्। उनका दशै गीत र कहिलेकाहीँ कथा तथा आर्टिकलहरु पनि बजारमा पढ्न पाइन्छ । बेला बेला उनका सोलो गीतहरू बजारमा आइरहन्छन ।