
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ६७ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनी ३५ करोड २७ लाख रुपैयाँ खुद नोक्सानीमा थियो ।
कम्पनीको जीवन बीमा कोष १९ दशमलव ७६ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा १ खर्ब ६३ अर्ब रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ थियो ।
समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ४ दशमलव ६९ प्रतिशतले सुधार भएको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ३६ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड थियो ।
जगेडा कोष १२५ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २८ करोड ८३ लाख रहेको जगेडा कोष गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६४ करोड ९७ लाख पुगेको छ ।
कम्पनीले गत आर्थिक वर्ष १५ अर्ब ४३ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब १६ करोडको दाबी भुक्तानी भएको थियो । कम्पनीले अझै १ अर्ब ३८ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।
नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ८ अर्ब २० करोड पुगेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८४ पैसा रहेको छ ।