
काठमाडाैँ । वाणिज्य बैंकहरुमध्ये राज्यलाई सबैभन्दा धेरै कर तिर्ने बैंकका रुपमा ग्लोबल आइएमई बैंक स्थापित भएको छ ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक अग्र स्थानमा देखिएको हो । जसमा ग्लोबलले वर्षभरी विभिन्न शीर्षकमा तिरेको कर गत आ.व.मा पाँच अर्ब ४३ करोड रुपैयाँ रहेको छ । यस्तै उक्त अवधिमा ग्लोबलले सात अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएकोे छ ।
जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ दशमलव २६ प्रतिशतले बढी हो । २१ वटा बैक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पूँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक मानिन्छ ।