२०८१ चैत्र २ शनिबार

राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि विदेश पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् ।

उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ । पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् । दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन् ।

सिनियर टिमको ब्याकअप मानिएको एउटा पुस्ताकै विदेश पलायन नेपाली फुटबलकै लागि गम्भीर धक्का हो । पलायन भएका खेलाडीमध्ये पनि विमल सबैभन्दा हाइप्रोफाइल नाम हुन् । उनको अनुपस्थितिले नेपालको टीम सेटमा ठूलै रिक्तता पैदा हुनेछ ।

विमल नेपाली राष्ट्रिय टीमका प्रमुख फरवार्डका रुपमा रहेका थिए । उनी सबैभन्दा कम उमेरमा नेपालको राष्ट्रिय टीमबाट डेब्यू गर्ने खेलाडी हुन् । साथै, राष्ट्रिय टीमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान पनि उनको नाममा छ । विमलले १४ वर्षको उमेरमा डेब्यू गरेका थिए भने १५ वर्षमा पहिलो गोल गरेका थिए । राष्ट्रिय टीमबाट अहिलेसम्म उनले ९ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय