
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । बुधबार टेलिकमले विज्ञप्ति जारी गर्दै पहाडीलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको जानकारी दिएको हो । उनले यसअघि कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन् ।
अर्यालले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् । २०५१ फागुन १० गते उनले स्थायी नियुक्ति लिएकी थिइन् ।
उनले अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेकी छन् । उनलाई प्राविधिक क्षेत्रमा गरेको अनुकरणीय कामको मुल्याङ्कन गर्दै थाइल्याण्डको एशियन इन्सिच्युट अफ टेक्नोलोजी एलोमेनी एशोसियसनले एआइटिएए ड्रिष्ट्युइङ गिष्ट एलोमिनी अवार्ड प्रदान गरेकाे थियाे ।
झण्डै ३ दशक लामो टेलिकम्युनिकेशनको अनुभव संगालेकी पहाडी लामो समयदेखि नेपाल टेलिकममा ताररहित संजाल विज्ञका रुपमा कार्यरत छन । यस सेवा अवधि मध्ये २ दशक बढि मोवाइल सर्भिसको स्थापना काल देखिनै सेवारत पहाडी पछिल्लोसमय केन्द्रिय कार्यालयमा कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । प्राविधिक क्षेत्रमा महिलाको सहभागीता निकै न्युन रहेको अवस्थामा पहाडी एक उदाहरण हुन् ।