
रौतहटको फतुवा विजयपुर नगरपालिका, रौतहटका मेयर गोपाल राय यादवसहित २१ जना भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको संयुक्त इजलासले मेयर यादवसहित २१ जनालाई दोषी ठहर गरेको हो ।
ऐन नियम विपरीत लालबकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियारले मेयर यादवसहित २१ जनाविरुद्ध १२ असार २०७९ मा १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दामा मेयर गोपाल यादव, तत्कालीन उपमेयर कान्तीदेवी, तत्कालीन वडाअध्यक्षहरु भविछन राय, सञ्जयप्रसाद शेख, एजाज अहमद, दीपनारायण साह, उमाशंकर साह कलवार, हिरा राय यादव, योगेन्द्र चौधरी, ज्ञानेन्द्र चौधरीलाई विपक्षी बनाइएको थियो ।
यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोक्का, निमित्त प्रमुख प्रशासकिय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रञ्जना साहविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।
गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकास्थित लालबकैया नदीको ठेक्का गैर कानुनी रुपमा रद्द गरी नगरपालिकालाई नोक्सानी पुर्याएको आरोप उनीहरुमाथि लागेको थियो ।