
प्रायः बालबच्चाका मुखबाट दसैं आएसँगै यो उक्ति निक्लने गर्छ। दसैं भन्नेबित्तिकै सबैले मीठो-मीठो खानेकुरा सम्झिन्छन्। माछामासु, मिठाई र फलफूलजस्ता परिकारलाई दसैंको बेलामा विशेष प्राथमिकतामा राखिन्छ।
हरेक चाडपर्वमा हामीले खाने खानेकुरा हाम्रो संस्कृति र देशको अर्थ व्यवस्थासँग जोडिएका हुन्छन्। दसैंमा देशदेखि विदेशसम्मका मानिसहरूको जमघट हुन्छ । मानिसहरू एकअर्काको घरमा पाहुना बनेर यही मौकामा जान्छन्। त्यसैले यो अवसरमा खानपानमा विशेष जोड दिइन्छ। दसैंको सामाजिक र धार्मिक प्रभाव छ। दसैं खानासँग पनि जोडिन्छ। पाहुना आएपछि त खाना दिनैपर्यो। दसैंमा मिठो मसिनो खाने चलन नै छ।
दसैंमा हामी अझै बढी मासु खान्छौँ। खान हुदैन भन्ने होइन, तर एकदमै धेरै लतपत पारेको, धेरै मसला, धेरै नुन हालेको मासु खानु हुँदैन। हप्ताभरि मासु खाइरह्यो भने समस्या आउँछ। मासु पच्न गाह्रो हुन्छ, मासुमा रेसादार पदार्थ पनि हुँदैन जसले गर्दा उच्च रक्तचाप, मधुमेह र मोटपना भएकाहरुले मासुको अत्याधिक प्रयोग गर्दा समस्या थपिन्छ। मासुसँगै चिउरा, रोटी, भात खाइन्छ।
मिठो मासु छ भने भात अझै बढी खाने चलन छ। यसले शरीरमा अझै समस्या पार्छ, मोटोपन झनै बढाउँछ।त्यसैले यो बेलामा मासु खाएसँगै हरियो तरकारी पनि पर्याप्त खानुपर्छ। एक छाकमा अलि बढी भएजस्तो लाग्यो भने अर्को छाकमा मासु खानु हुँदैन। पकाउँदा धेरै चिल्लो हाल्नु हुँदैन। धेरै मासु पकाएर फ्रिजमा राख्ने, निकाल्ने, तताउने, खाने अनि फेरि राख्ने गर्नु हुँदैन। यसले शरीरलाई हानी गर्छ। जति पकाउने हो फ्रिजबाट त्यति नै झिक्नुपर्छ।
दसैं आउनेबित्तिकै एउटा बहस सुरु हुन्छ। शाकाहारीले भन्छन्- ‘मासु खानै हुँदैन।’ मांसाहारीले भन्छन्- ‘शाकाहारीको दसैं के दसैं।’ तर, यस्तो भनिरहनु जरुरी छैन। जसलाई मन लाग्छ, उसले खान्छ, जसलाई मन लाग्दैन, उसले खाँदैन। आजभन्दा हजारौँ वर्ष अगाडिदेखि नै मनिसहरूको मुख्य खानेकुरा मासु थियो। त्यसैले यो बहस गरिरहनु जरुरी छैन।
दसैंको बेलामा शाकाहारीलाई पनि उत्तिकै खानेकुरा छन्। शाकाहारीले तरकारी, अचार, दही, मही पनिर खान सकिन्छ। तरकारीको प्रयोग बढी गर्दा फाइदा हुन्छ। तर मिठाइहरु भने धेरै खानु हुँदैन। शाकाहारी मांशाहारी सबैले दसैंको बेलामा खानामा ध्यान दिनुपर्छ।
पत्रु खाना खानु हुँदैन। बालबालिकालाई बाहिरबाट ल्याएको प्याकेटयुक्त खाना खुवाउन हुँदैन। चाउचाउहरुमा तोकिएभन्दा ३७ देखि २ सय प्रतिशत बढी सोडियम मिसाइएको हुन्छ। यसले बालबालिकाको मृगौलामा असर पार्छ। पत्रु खानालाई पत्रु ठानेर पत्रु बाकसमै राख्नुपर्छ। चिसो पेय पदार्थको कम प्रयोग गर्नुपर्छ। घरमै पेय पदार्थ बनाउन सकिन्छ।
खानेकुरामा मानिस स्वभावैले लोभी हुन्छ। पेट भरिसकेपछि पनि खाँऊखाँऊ लाग्छ। त्यसमाथि आफूलाई मीठो लाग्ने खानेकुरामा कमैले मात्र मन थाम्न सक्छन् । चाडपर्वमा हामी आफू त उकुसमुकुस हुने गरेर खान्छौँ-खान्छौँ, बिरामीलाई समेत ‘आज एक दिन खानुस्, अरू बेला मुख बार्नुहोला’ भनेर हौस्याउँछौँ। उसै पनि खान मन गरेर बसेका बिरामीलाई यसरी कर गरेपछि ढुंगा खोज्दा देउता मिलेसरह हुन्छ। यसले बिरामीको स्वास्थ्यमा के असर गरिरहेको हुन्छ, ह विचार गर्दैनौँ। यसरी बिरामीलाई झन् बिरामी पार्छौं।
आफ्नो शरीरलाई चाहिनेभन्दा बढी खानेकुरा खानुहुँदैन। थोरै खाँदा थोरै र धेरै खाँदा धेरै रमाइलो हुने होइन। अव्यवस्थित खानपानले तत्कालीन असरहरू देखाउँदैन । दीर्घकालीन रूपमा धेरै असर गरिरहेको हुन्छ। त्यसैले एकछिनको रमाइलोका लागि होइन, स्वस्थ हुनका लागि खानेकुरा खानुपर्छ।
दसैंमा धेरै ठाउँमा जाँदा धेरै नै खानेकुरा खाइन्छ । यसरी लगातार ‘हेभी’ खानेकुरा खाँदा शरीरले धान्न सक्दैन। यस्तो अवस्थामा एक छाक खान छोडेर शरीरलाई आराम दिन सकिन्छ। यसरी खानपिन गर्दा चाडपर्वपछि कसैले दुःख पाउनुपर्दैन। हाम्रो भोजन नै हाम्रो औषधि हो। हामीले राम्रोसँग भोजन गर्यौँ भने औषधिको आवश्यकता पदैैन। राम्रोसँग भोजन गरेनौँ भने जति औषधि गरे पनि त्यसले काम गर्दैन।
पाँच-छ फिटको शरीरलाई चार इन्चको जिब्रोले नियन्त्रण गर्छ। खाँऊ-खाँऊ लाग्दैमा खाइहाल्ने गर्नु हुँदैन। त्यसले पछि शरीरमा कस्तो असर गर्छ, विचार पुर्याउनुपर्छ। लोभी नभई खानुपर्छ। कतिपय अवस्थामा खानेकुरामा ‘नो’ भन्न सक्यो भने शरीर स्वस्थ रहन्छ। स्वस्थ मानिसरले बिरामी नपर्ने गरेर खानेकुरा खानुपर्छ। बिरामीले भने झन् ध्यान पुर्याएर खानुपर्छ।