
दसैंपछि विभिन्न २० वटा कम्पनीले सर्वसाधारका लागि साधारण सेयर (आइपीओ) निष्कास गर्ने भएका छन् । दसैंअघिसम्म २० वटा कम्पनी आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
यी कम्पनीहरुले १२ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको आइपीओ निष्कासन गर्न अनुमति मागेका हुन् । आवेदन दिएका सबै कम्पनीले आइपीओ निष्कासनको लागि अनुमति पाएभने धितोपत्र बजारमा ८ करोड ९६ लाख ३५ हजारभन्दा बढी सेयर थपिनेछ । यी मध्ये रिलायन्स स्पिनिङ मिल्स र जगदम्बा स्टिलले प्रिमियम भाउमा आइपीओ जारी गर्न अनुमति मागेका हुन् । अरुले एक सय अंकित मूल्यमा नै आइपीओ जारी गर्न लागेका हुन् ।
बोर्डमा आइपीओ निष्कासनका लागि आवेदन दिएका मध्ये धेरैजसो जलविद्युत कम्पनीहरु रहेका छन् । पछिल्लो समय धितोपत्र बोर्डले जलविद्युत कम्पनीहरुलाई अइपीओ निष्कासनमा पनि कडाईं गर्न लागेको छ । वित्तीय रुपमा सबल नभएका कम्पनीहरुले पनि आइपीओ र हकप्रद सेयर जारी गरेको भन्दै त्यसमा नियमन गर्न धितोपत्र बोर्डलाई सरोकारवालाहरुले दबाब दिँदै आएका थिए ।
यसैबीच, बोर्डले यसलाई व्यवस्थित गर्नका लागि धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा केही व्यवस्था थप गर्न लागेको हो । तथापि, बोर्डमा आइपीओ निष्कासनको लागि अनुमति दिएका कम्पनीमा उक्त व्यवस्था लागू हुनेछैन ।