
मौरीपालनका लागि प्रशस्त चरन क्षेत्र र स्रोत भएको प्युठानको ऐरावती गाउँपालिका–३, जाबुनेमा खिमा पुनले मौरीपालनलाई व्यावसायिक रूपमा अघि बढाएकी छिन। परम्परागत रूपमा मुढे घारमा मौरी पाल्दै आएका पुनले केही वर्षअघिदेखि आधुनिक घारमा मौरीपालन गर्न थालेकी हुन् ।
जाबुनेमा एक सय वटा आधुनिक घारमा सेरेना जातका मौरी पालिएको उनले बताइन् । अहिले मौरीका लागि आवश्यक पर्ने रस प्रशस्त पाइन्छ । चिउरीलगायत फूल फुल्ने रुखबिरुवा र जङ्गलनजिकै भएकाले जाबुनेमा मौरीपालनको राम्रो सम्भावना रहेको पुनले बताइन्।
ऐरावती गाउँपालिका, सरुमारानी गाउँपालिका, प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिकालगायतका स्थानीय तह मौरीपालनका लागि उपयुक्त रहेका छन् । प्रायः प्रत्येक स्थानीयको घरमा परम्परागत मुढे घार छन् । त्यसबाहेकका अरू ठाउँमा पनि मौरीपालन गर्ने गरिएको छ ।
प्युठान नगरपालिका–७, टिकुरीका मधुसुदन भण्डारीले व्यावसायिक मौरीपालन थालेको पाँच वर्ष भयो ।उनले भने, “व्यावसायिक रूपमा मौरी पाल्न सुरु गरेको छ वर्ष भयो । गत वर्ष अरिङ्गालले मौरी सबै सखाप पार्यो, यो वर्ष उत्पादन राम्रो हुन्छ कि भन्ने आशा छ ।” भण्डारीसँग अहिले ६० घार मौरी छन् । पर्याप्त चरन क्षेत्र भएको प्युठानमा यस वर्ष मौरी चरनको सिजनसमेत सुरु भएको छ ।
व्यावसायिक रूपमा मेलिफेरा जातको मौरीपालन गर्दै आएका जिल्लाबाहिरका व्यवसायीले जिल्लाका विभिन्न क्षेत्रमा चरनका लागि मौरी ल्याउन सुरु गरिसकेका छन् । सर्लाही, बारा, चितवनलगायत क्षेत्रबाट व्यवसायीले चरनका लागि मौरी ल्याउने गरेका छन् ।
जिल्लाभर ११ हजार ७९६ घार रहेका छन् । यो वर्ष १५८ मेट्रिक टन मह उत्पादन हुने अनुमान गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।