
हिमालयन बैंकको विवाद फेरि अदालतमा पुगेको छ। बैंकको सर्वसाधारण सेयरधनीको अनुपात राष्ट्र बैंकको नियम अनुसार ३० प्रतिशत पुर्याएर मात्र साधारण सभा गर्न भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको हो।
हिमालयन बैंकको कुल सेयर पुँजीमा सर्वसाधारण सेयरधनीको अनुपात हाल २७ प्रतिशत मात्रै छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ (१) र ९ (४) बमोजिम सर्वसाधारण सेयरधनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत हुने गरी बैंकको पुँजी संरचनालाई व्यवस्थित गरेर मात्रै साधारण सभा गर्न र सर्वसाधारणबाट संचालक चयन गर्न भन्दै हालका संचालक मध्येका एक संचालकले मुद्दा दायर गरेका हुन्।
मुद्दामा बैंकका केही निहीत स्वार्थ भएका संचालकहरुले सर्वसाधारण सेयरधनीका तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्वमा जालझेल गर्न खोजेको आरोप समेत लगाइएको छ। यसअघि पनि हिमालयन बैंकको विवाद पटकपटक अदालत पुगेको थियो।
हिमालयन बैंकमा स्थापनाकालदेखि नै निजी क्षेत्रबाट ४ वटा समूह संस्थापक सेयरधनीको रुपमा छन्। मनोजबहादुर श्रेष्ठ, प्रेमप्रकाश खेतान, हिमालयशमशेर राणा र हबिब बैंक अफ पाकिस्तानका प्रतिनिधि सलीम अम्लानी संस्थापक सेयरधनी हुन्। यी ४ संस्थापक सेयरधनीबाहेक बैंकमा कर्मचारी सञ्चय कोष तथा सर्वसाधारणको समेत सेयर हिस्सा छ।