२०८२ जेष्ठ ३ शनिबार

रामेछापको मन्थली विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ । तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको प्राधिकरणले जनाएको छ । उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

आज शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो । क्याप्टेन सन्तोष शाह आज बिहान ८ बजे सोलुको लुक्लाबाट जहाज लिएर मन्थली विमानस्थलमा अवतरण गरेका थिए । अर्का क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै थिए । लुक्लावाट मन्थली आएका क्याप्टेन शाह जहाजबाट ओर्लिएर बाहिर निस्केर हिँड्दै गर्दा जहाज भएको ठाउँतर्फ अर्का क्याप्टेन श्रेष्ठ जाँदै थिए । दुई जनाको भेटमा क्याप्टेन शाहले अर्का क्याप्टेन श्रेष्ठसँग हात मिलाउन खोज्दा श्रेष्ठले शाहलाई एक चड्कन गालामा हानेर धकेलिदिएपछि क्याप्टेन शाह भुइँमा बजारिन पुग्दा सामान्य घाइते समेत भए ।

घटनापछि क्याप्टेन श्रेष्ठले जहाज लिएर लुक्लातर्फ उडेका छन् भने शाह कानुनी उपचारका लागि शाहविरुद्ध निवेदन लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । क्याप्टेन शाहले आफूलाई विना कारण क्याप्टेन श्रेष्ठले हात हालेको भन्दै आवश्यक कारवाहीको लागि निवेदनसहित कार्यालयमा आएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिएका छन् । घटनावारे थप अनुसन्धान र सोधपुछ गरिरहेको पराजुलीले बताएका छन् ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दुई जना पाइलटबीच व्यक्तिगत कारणले झगडा भएको देखिएको र विस्तृत विवरण आउन बाँकी रहेको बताए । ‘उहाँहरुबीच कम्पनीका कारण झगडा भएको देखिन्न’, उनले भने, ‘कुनै व्यक्तिगत कारण हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय