२०८२ जेष्ठ २९ बिहीबार

काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको जित निकाल्दै नेपालले १० वर्षपछि सन् २०२४ मा विश्वकप खेल्ने भएको छ ।

शुक्रबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले पारजित गर्दै आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा प्रवेश गरेको हो।  युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।

पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए । काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ ।

जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । नेपाल र ओमान छनोट भएपछि सन् २०२४ मा हुने टी-२० विश्वकप खेल्ने १८ टोली छनोट भइसकेका छन् । आईसीसी मेन्स टी-२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा छन् र सीधै छनोट भइसकेका छन् । २०२२ को टी-२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन् ।

टी-२० विश्वकपपछि वरियतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि स्थान सुरक्षित गरेका छन् । आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले टी-२० विश्वकप रिजनल क्वालिफायर्सबाट टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर