
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौंमा आयोजित दुई दिने क्यासी सम्मेलनको सोमबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले लगानीका लागि आह्वान गरेका हुन् ।
नेपालमा लगानीका अवसर बढ्दै गएको बताउँदै उनले भने, ‘लगानी सहज बनाउने कानुनहरु निर्माण भैरहेका छन्, म कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु ।’ उनले नेपालमा विद्युतमा धेरै सम्भावना र अवसर रहेको भन्दै त्यसतर्फ लगानी बढाउन आह्वान गरे । नेपाली विद्युतको बजार भारत र बंगलादेशमा पनि बन्दै गएको बताउँदै उनले भने, ‘विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु ।’
राष्ट्रपति पौडेलले गत शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरुलाई अपिल पनि गरेका छन्। उनले साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्ड भएको बताए।
‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला हो। साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन्। तिनीहरूले वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्,’ उनले भने।