
कामना सेवा विकास बैंकले दृष्टिविहीनहरुलाई लक्षित गरी “स्वाभिमान बचत खाता” सञ्चालनमा ल्याएको छ। नेपाली बैंकिङ क्षेत्रकैं पहिलो विशेष प्रकृतिको बचत खाता वि.सं. २०७७ सालमा शुरु भएको हो ।
उक्त खातामा ग्राहकवर्गको सहजका लागि खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के-के विषयहरु उल्लेख छ भन्ने बारेमा ग्राहक आफैले पढ्न सक्ने गरी ब्रेल लिपिको व्यवस्थासमेत गरिएको छ। स्वाभिमान बचत खातामा शून्य मौज्दातमा खोल्न र उच्चतम् प्रतिफल प्राप्त गर्न सकिने बैंकको दाबी छ। साथै बैंकबाट प्रदान गरिने अन्य विशेष सुविधाहरु समेत लिन सकिछ। यही “स्वाभिमान बचत खाता” बारे केन्द्रित रही कामना सेवा विकास बैंकका ब्रान्डिङ हेड सुशिल पौडेलसँग बिजनेश न्यूज नेपालका दिपक पाण्डेयले गरेको कुराकानीको सम्पादित अंशः
१. स्वाभिमान बचत खाता कस्तो खाता हो?
स्वाभिमान बचत खाता भनेको फरक क्षमता भएका दृष्टिविहीन व्यक्तिहरुका लागि सञ्चालनमा ल्याइएको खाता हो। यो खाता आम नागरीकहरुले सहजै खोल्न सक्छन् । साङ्ग व्यक्तिहरुले नागरिकताको फोटोकपी र फोटो मात्र लिएर खाता खोल्न सक्छौ तर दृष्टिविहीन व्यक्तिहरु खाता खोल्न जादा अन्य व्यक्ति सरह खाता खोल्न पाउनुपर्छ उहाँहरु पनि स्वभिमानी हो भन्ने हिसाबले यो खाता सञ्चालनमा ल्याइएकाे हो। विशेष गरी दृष्टिविहीन व्यक्तिहरुले प्रयाेग गर्ने खाता हो।
२. कामना सेवा विकास बैंकलाई यो खाता सञ्चालनका ल्याउने सोच कसरी आयो?
विभिन्न वित्तिय संस्थाहरुमा सर्भे गर्दा दृष्टिविहीन व्यक्तिले खाता खोल्दा कसरी खाता खोल्छन्? भन्ने कुराबारे हामीहरुले छानबिन गर्यो। दृष्टिविहीन मानिसहरुले खाता खोल्दा आफुसँग एकजना नजिकको वा घरको व्यक्तिलाई साक्षीको रुपमा लैजानुपर्ने र हस्ताक्षर गरेपछि खाता खोल्न मिल्ने व्यवस्था रहेको थियाे। तर यसलाई परिवर्तन गरेर दृष्टिविहीन व्यक्तिलाई मोबाइल बैंकिङ एटीएम तथा इन्टरनेट बैंकिङ प्रयोग गर्न सकिने प्रकृतिकाे हुनुपर्छ। उनीहरुले ब्रेल लिपीमा अध्ययन गर्ने भएकाले आवश्यक नियम र सर्तहरू ब्रेल लिपीमा अध्ययन गरेर खाता खोल्न पाउनुपर्छ भनेर हामीले त्यसको नियम र सर्तहरुलाई ब्रेल लिपीमा बनाएर यो खाता सञ्चालनमा ल्याएका हौं। विशेष गरी दृष्टिविहीन व्यक्तिले अन्य नागरिक सरह खाता खोल्न पाउनुपर्छ भन्ने सोच आयो। त्यसपछि समाजमा केहि फरक गर्नुपर्छ भन्ने लागेर यो खाता सञ्चालन गरेका हौं।
३- यस खाता अन्तर्गत ग्राहकले पाउने सुविधा केके रहेका छन्?
सर्वसाधारणले पाउने सबै खाले सुविधा यसमा ग्राहक(दृष्टिविहीन)ले पनि पाउँछन्। यो खाताको नाम नै स्वाभिमान हो। दृष्टिविहीन व्यक्तिहरु आफैमा स्वाभिमान भएकाले उनीहरुलाई बैंकिङ् र फाइनान्सियल कामका लागि अरुको सहयोग चाहिदैन। यो दृष्टिविहीनहरुलाई लक्षित गरी सञ्चालनमा ल्याईएको डिपोजिट प्रोडक्ट नेपालको बैंकिङ क्षेत्रकै पहिलो हो।
अहिलेसम्म यस्तो सुविधा कुनै पनि बैंक तथा वित्तिय संस्थाले दिएको छैन। अरु बैंक तथा वित्तिय संस्थामा खाता खोल्नु पर्दा साक्षी बस्नुपर्ने हुन्छ तर यसमा चाहिँ क्षमता निर्माणको लागि विभिन्न कार्यक्रमहरु गर्यो। ती कार्यक्रम अन्तर्गत दृष्टिविहीनहरुलाई हस्ताक्षर गर्ने तालिम दियौ। जसले गर्दा दृष्टिविहीनले आफैले हस्ताक्षर गर्न सक्छन्। बैंकका एटिएमहरुमा आवाज आउने सुविधा गरायौ जसले गर्दा दृष्टिविहीनले पनि सजिलै एटिएमको प्रयोग गर्न सक्ने भएका छन्।
४. दृष्टिविहीन व्यक्तिहरुले एटीएमको प्रयोग कसरी गर्ने गर्छन्?
दृष्टिविहीनहरुले एटीएमको प्रयोग गर्ने समयमा कुनै पनि अंक थिच्दा आवाज आउने गर्दछ। जुन एटीएमहरुमा आवाज आउने सुविधा छैन त्यस्तो एटीएममा हेडफोनको प्रयोगले आवाज सुन्न सकिन्छ। उहाँहरुले फोन चलाए जस्तै एटीएम चलाएर कारोबार गर्नसक्नुहुन्छ। एटिएमहरुमा आवाज आउने सुविधा भएकाे कारणले गर्दा दृष्टिविहीनहरुले पनि सजिलै एटिएमको प्रयोग गर्न सक्ने भएका छन्।
५. अहिलेसम्म स्वभिमान बचत खाता प्रयोग गर्ने ग्राहकहरु कति छन्?
कामना सेवा विकास बैंकद्धारा सञ्चालनमा ल्याएको स्वाभिमान बचत खाताको प्रयोग हालसम्म करिब २ सयले यो सुविधा प्रयोग गरिरहेका छन्।
६. स्वाभिमान बचत खाता प्रयोगकर्ताको यसबारे कस्तो प्रतिक्रिया रहेको छ?
प्रयोगकर्ताहरु एकदमै सन्तुष्ट हुनुन्छ। सबै प्रयोगकर्ताको प्रतिक्रिया एकदमै राम्रो रहेको छ।
७. यो खाता सम्बन्धी आगामी योजना कस्तो रहेको छ?
यो खातालाई जति सक्यो उती धेरै नै प्रचार-प्रसार गर्ने। दृष्टिविहीन व्यक्तिहरुलाई बैंकिङ प्रणालीमा काम गर्न सक्ने, उहाँहरुलाई बैंकिङ प्रणालीका प्रविधिहरु प्रयोग गर्न सक्ने क्षमता बनाउने, हस्ताक्षरको तालिम दिने लगायतका योजना रहेका छन्। त्यस्तै गरी दृष्टिविहीन व्यक्तिहरुलाई सुरक्षित भरपर्दो सहज तरिकाले कामना सेवा विकास बैंकका सम्पूर्ण खाताका प्रकारहरुको सेवा सुविधाहरु बिना रुकावट जुनसुकै शाखाबाट लिन सकिन्छ। यसको दायरा बढाउँदै गइरहेका छौ।
८. स्वाभिमान बचत खाताले कामना सेवा विकास बैंकको बैंकिङ प्रणालीमा कस्तो प्रभाव पार्छ?
यो बचत खाताले पहुँचको दायरा फराकिलो बनाउँछ। फरक तरिकाले सक्षम भएका व्यक्तिहरुले पनि बैंकिङ सुबिधा पाउँछन्। वित्तिय पहुँच बढाउने, बचतको पहुँच बढाउने जस्ता कुराहरु स्वाभिमान बचत खाताले बैंकिङ प्रणालीमा पार्ने प्रभावहरु हुन्। यसले दृष्टिविहीन व्यक्तिहरुको पैसाको सुरक्षा भइरहेको छ ।
कामना सेवा विकास बैंकले यो खाता ल्याइसकेपछि दृष्टिविहीन व्यक्तिहरुलाई बैंकिङ पहुँचमा पुग्नका लागि सजिलो भएको छ। हामी अझै यसको दायरा बढाउँदैछाैं। सी.एस.आई अन्तर्गत जुन बजेट हुन्छ त्यो बजेटमार्फत दृष्टिविहीन व्यक्तिहरुलाई अरु सुविधा दिने काम पनि गर्छाै। जसले गर्दा बैंङ्गबाट कारोबार गर्नुपर्छ भन्ने महत्व हामीहरुले उँहाहरुलाई बुझाउँदै जानेछाैं। दृष्टिविहीन व्यक्तिहरु बैंकिङ प्रणालीमा सहजै पुग्न र सुरक्षित कारोबार गर्न सक्छन् भन्ने हाम्रो विश्वास रहेको छ।