२०८१ चैत्र १० आईतवार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा परेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री भण्डारीले बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जानुपर्दा युवामा विकृतिसमेत आएको बताए। उनले आगामी दश वर्षभित्र मुलुकमै रोजगारीको सुनिश्चित गर्न उद्यमशीलता र उत्पादकत्व वृद्धि गरी श्रम बजारको व्यवस्थापनको सुरुवात भएको बताए। नेपाली युवामा देखिएका अधिकांश निराशा रोजगारसँग सम्बन्धित रहेको भन्दै उनले सरकारले रोजगारीको सिर्जना र श्रम शक्तिको उचित मूल्याङ्कन गरी निराशा चिर्ने दाबी गरे।

उनले भने, ‘अहिलेको अवस्थामा मुलुकमा छाएको एक खालको जुन निराशा छ, यो विशेष गरेर रोजगारसँग जोडिएको छ। मुलुकमा हरेक वर्ष असाध्यै शक्तिशाली श्रमशक्ति मुलुकको श्रम बजारमा आउँदैछ। तर त्यो श्रम बजारको व्यवस्थापन हामीले गर्न सकिरहेका छैनौँ। जसको कारणले हामी बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारको चपेटामा परेका छौँ। जसले विभिन्न किसिमका विकृतिहरू पनि जन्माएको छ।’

मन्त्री भण्डारीले नेपालको श्रम रोजगार तथा आर्थिक गतिविधिको क्षेत्रमा नयाँ कोशेढुङ्गाको सुरुवात भएको बताए। विदेशमा सिकेका सीप र संस्कारलाई नेपालमा भित्र्याएर उत्पादकत्व वृद्धि गर्नुपर्ने उनको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय