
कैलालीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया शाखामा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेको आरोपमा मार्टेन भनिने २० वर्षीय प्रविन शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले शाहीलाई सोमबार गोदावरी नगरपालिकाको गेटा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए। उनलाई अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ।
चौधरीमाथि २२ फागुनमा कार्यालय परिसरमै खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहार गरेको अभियोगमा शाहीसहितका केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी परेको छ।
शाही पक्राउ परेपनि अन्यको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गंगा थापाले बताए। उनकाअनुसार खुकुरी प्रहारबाट घाइते भएका चौधरीको काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ। चौधरी विद्युत प्राधिकरणमा फोर म्यानका रुपमा कार्यरत थिए।