२०८१ चैत्र १० आईतवार

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रिय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ। निक्षेप बोलकबोलका लागि आज दिउँसो ३ बजे सम्मको समय निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

गत फागुन ६ गते केन्द्रीय बैंकले ४० अर्ब माग गर्दा बैंकहरुले बुझाएको १० अर्ब ४० करोड पनि आजै परिपक्क हुँदैछ। त्यस्तै ९८ अर्ब स्थायी निक्षेप सुविधा (एसडीएफ) पनि आजै परिपक्क हुने भएपछि केन्द्रीय बैंकले एकैदिन ५० अर्ब खिच्न लागेको हो। यसअघि गत फागुन २५ गते मात्रै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि २५ अर्ब तरलता प्रशोचन गरेको थियो। जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो। चालु आर्थिक वर्ष सुरु भए यता निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले ५५ पटकमा १९ खर्ब ६३ अर्ब ६० करोड रुपैयाँ खिचेको छ। बैंकहरुले निक्षेप संकलन उपकरणमा ७७ अर्ब ५० करोड परिपक्क हुन बाँकी छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल वित्तीय प्रणालीको निक्षेप ६७ खर्ब ५५ अर्ब नाघेको छ भने ५४ खर्ब ६२ अर्ब कर्जा लगानी पुगेको छ। हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ७९.५५ प्रतिशत कायम रहेको छ। बैंकहरुले यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गरेर लगानी गर्न पाउँछन्। बैंकहरुको हालको सीडी रेसियो हेर्दा बैंकहरुमा ६ खर्ब १७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय