स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई नवीनतम प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले आधुनिक प्रविधि र नयाँ आर्किटेक्चरमा आधारित अद्यावधिक प्रणाली सञ्चालनमा ल्याइएको बोर्डले आइतबार जनाएको हो।
बोर्डका अनुसार नयाँ प्रणालीले स्वास्थ्य सेवा प्रदायक संस्थाबाट प्राप्त उपचारसम्बन्धी दाबीहरूको छिटो तथा प्रभावकारी रुजु र मूल्याङ्कन गर्न सहयोग गर्नेछ। साथै, राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग अन्तरआबद्धता कायम गरी तथ्याङ्कको वैधता र गुणस्तरसमेत अभिवृद्धि गर्नेछ।
नयाँ प्रणालीमा दाबीसम्बन्धी त्रुटि तथा असामान्य विवरण पहिचान गर्न फ्ल्यागिङ प्रणाली, बीमितको अभिलेख खोजी तथा पहिचान र सेवा प्रदायकको अवस्थासम्बन्धी विवरण अनुगमन गर्ने व्यवस्था गरिएको छ।
यसबाट सूचना सुरक्षामा सुधार हुनुका साथै प्रणालीको गति, कार्यसम्पादन र विश्वसनीयता बढ्ने बोर्डको विश्वास छ। त्यस्तै, आगामी दिनमा कृत्रिम बुद्धिमत्तामा आधारित प्रविधिको प्रयोग तथा विकासका लागि समेत नयाँ प्रणालीले आधार तयार गर्ने जनाइएको छ।
स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल रूपान्तरण, सेवा प्रवाहमा सुधार तथा नागरिकमैत्री स्वास्थ्य बीमा प्रणाली विकास गर्ने लक्ष्यसहित प्रणाली स्तरोन्नति गरिएको बोर्डले जनाएको छ। नयाँ प्रणालीले स्वास्थ्य बीमासम्बन्धी सेवा थप सहज, छिटो र प्रभावकारी बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस