भारतको राजधानी नयाँ दिल्लीमा नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ।
सोमबार हैदराबाद हाउसमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बैठक बसेको हो। बैठकमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुनुका साथै विभिन्न विषयमा सहमति जुटेको छ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री बालेनले गरेका थिए। नेपाली टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए।
त्यस्तै, भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्रीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री तथा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायत सहभागी थिए।
प्रधानमन्त्री बालेनको दुईदिने राजकीय भारत भ्रमणका क्रममा उच्चस्तरीय द्विपक्षीय बैठक बसेको हो। बैठकमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र विभिन्न साझा चासोका विषयमा छलफल भएको जनाइएको छ। बैठकमा भएका सहमतिले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस