विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय होटल समूह म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुईवटा अति विलासी (अल्ट्रा लक्जरी) होटल सञ्चालन गर्ने उद्देश्यसहित रणनीतिक साझेदारी भएको छ।
सम्झौताअनुसार नेपालमा उच्चस्तरीय आतिथ्य परियोजना विकास गरिनुका साथै भारतको सिलिगुडीमा समेत एक होटल निर्माण गरिनेछ। दुवै संस्थाबीचको सहकार्यलाई नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
सम्झौतापत्रमा म्यारिअट इन्टरनेसनल बोर्डका अध्यक्ष डेभिड म्यारिअट र सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरीको उपस्थितिमा हस्ताक्षर गरिएको हो।
ठमेलमा ‘रिट्ज–कार्लटन काठमाडौं’
साझेदारीअन्तर्गत नेपालमा सञ्चालन हुने प्रमुख परियोजना ‘रिट्ज–कार्लटन काठमाडौं’ हुनेछ। यसलाई नेपालको होटल तथा पर्यटन क्षेत्रमा हालसम्मकै ठूलो निजी लगानीमध्ये एक मानिएको छ। काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा निर्माण हुने परियोजनामा होटलसँगै ब्रान्डेड आवास, व्यावसायिक संरचना तथा क्यासिनोसमेत समावेश गरिने योजना छ।
करिब ९ रोपनी क्षेत्रफलमा विकास गरिने उक्त परियोजनाको अनुमानित लागत १० करोड अमेरिकी डलर अर्थात् झण्डै १५ अर्ब रुपैयाँ रहने बताइएको छ। निर्माण कार्य सन् २०२९ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
१५० कोठा क्षमताको अति विलासी होटल
परियोजनाअन्तर्गत करिब १५० कोठा क्षमताको अति विलासी होटल सञ्चालनमा आउनेछ। होटलका कोठाको शुल्क प्रतिरात एक हजार अमेरिकी डलरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। उक्त होटलले उच्च आय भएका अन्तर्राष्ट्रिय पर्यटक, व्यवसायिक पाहुना तथा विलासी सेवा खोज्ने ग्राहकलाई लक्षित गर्नेछ।
पर्यटन र लगानीमा सकारात्मक प्रभाव
परियोजनाले विदेशी लगानी आकर्षित गर्नुका साथै रोजगारी सिर्जना, पर्यटन पूर्वाधार विस्तार तथा उच्चस्तरीय आतिथ्य सेवा विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। लगानीकर्ताहरूले यस परियोजनाले नेपाललाई दक्षिण एसियाकै आकर्षक उच्चस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

