मुलुकभर चालु वर्ष धान रोपाइँको गति उल्लेख्य रूपमा सुस्त देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार २६ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ४५.८१ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा ५९.२८ प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको थियो।
मन्त्रालयका अनुसार देशभर रहेको १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ६ लाख २७ हजार ५६६ हेक्टर क्षेत्रमा मात्रै धान रोपिएको छ। यसले अघिल्लो वर्षको तुलनामा रोपाइँको गति उल्लेख्य रूपमा पछाडि परेको देखाएको छ।
प्रदेशगत विवरणअनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै ६५.९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। त्यसपछि लुम्बिनीमा ५९.६ प्रतिशत, सुदूरपश्चिममा ५७.९ प्रतिशत, बागमतीमा ५७.१ प्रतिशत, कर्णालीमा ४०.५ प्रतिशत, मधेशमा ३२.८ प्रतिशत र कोशी प्रदेशमा ३१.५ प्रतिशत क्षेत्रमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ।
गत वर्षको सोही अवधिमा भने सुदूरपश्चिममा ९३.१० प्रतिशत, कर्णालीमा ८३.२३ प्रतिशत, बागमतीमा ७६.३१ प्रतिशत, लुम्बिनीमा ७३.६८ प्रतिशत, गण्डकीमा ७१.०३ प्रतिशत, कोशीमा ४१.३२ प्रतिशत र मधेशमा ३३.७८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो।
तथ्यांकले यस वर्ष अधिकांश प्रदेशमा धान रोपाइँको प्रगति गत वर्षको तुलनामा कमजोर रहेको देखाएको छ। मन्त्रालयका अनुसार मनसुन ढिलो सुरु हुनु र रासायनिक मलको सहज उपलब्धता नहुनु यस वर्ष रोपाइँ सुस्त हुनुका प्रमुख कारण हुन्।
धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले रोपाइँमा आएको ढिलाइले उत्पादनमा समेत असर पार्न सक्ने कृषि विज्ञहरूको चिन्ता छ। समयमै पर्याप्त वर्षा र आवश्यक मलखादको आपूर्ति सुनिश्चित गर्न नसकिए उत्पादन लक्ष्य हासिल गर्न चुनौती थपिने देखिएको छ।

