सर्वोच्च अदालतले देशभरका विभिन्न अदालत तथा न्यायाधिकरणमा कार्यरत ४७५ जना कर्मचारीको सरुवा गरेको छ । निजी सहायकदेखि कार्यालय सहयोगीसम्मका विभिन्न श्रेणीका कर्मचारीहरूको सरुवा गरिएको हो ।
सरुवा गरिएका कर्मचारीहरू जिल्ला अदालत, उच्च अदालत, विशेष अदालत, ऋण असुली न्यायाधिकरण तथा वैदेशिक रोजगार न्यायाधिकरणलगायतका निकायमा कार्यरत रहेका छन् ।
न्याय प्रशासनलाई थप प्रभावकारी, व्यवस्थित र सेवामुखी बनाउने उद्देश्यका साथ कर्मचारी सरुवा गरिएको सर्वोच्च अदालतले जनाएको छ । सरुवाले अदालत तथा न्यायाधिकरणमा जनशक्ति व्यवस्थापन सन्तुलित हुने र सेवाप्रवाह अझ सहज हुने अपेक्षा गरिएको छ ।


