नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड आजदेखि दैनिक पाँच घन्टा बन्द हुने भएको छ। नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का अनुसार काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा–पिप्लामोड भाग अन्य क्षेत्रभन्दा साँघुरो भएकाले कालोपत्रे काम तीव्र गतिमा सम्पन्न गर्न सवारी आवागमन रोकिने जनाइएको हो। यस खण्डमा हेभी उपकरण तथा ढुवानीका साधन एकैचोटि परिचालन गर्नुपर्ने भएकाले सडक केही समयका लागि पूर्णरूपमा बन्द गर्न लागिएको हो।
आयोजना कार्यालयका अनुसार पुस १ गतेसम्म प्रत्येक दिन बिहान १०:३० देखि दिउँसो ३:३० बजे सम्म यातायात बन्द हुनेछ। निर्धारित अवधिमा यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकायका सवारी, दमकल तथा शववाहनलाई भने ट्राफिक प्रहरीले सहजीकरण गरी मार्ग खोलिदिने जनाएको छ।
यातायात व्यवस्थापनका लागि विभिन्न स्थान तोकिएको छ। काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीलाई नागढुंगा चेकपोस्टमा रोकिनेछ। मुग्लिनतर्फबाट काठमाडौं आउने सवारी खानीखोला, नौबिसे, जंगेखोला तथा थाक्रेमा रोक्ने व्यवस्था मिलाइएको छ। नौबिसे–मुग्लिन खण्डमा गल्छी, बैरेनी र मासटारलाई रोक्का बिन्दु तोकिएको छ भने मुग्लिन–नौबिसे आउने सवारी मलेखुमा रोकिनेछ।
वैकल्पिक मार्गका रूपमा साना तथा मझौला सवारीले सीतापाइला–रामकोट–भीमढुंगा–धार्के, सामाखुसी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी तथा जरेखेतस्थित त्रिशुली पुल हुँदै घाटबेसीतिरको मार्ग प्रयोग गर्न सकिने आयोजना कार्यालयले जनाएको छ।

