नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार अन्तिम दिनसम्म उक्त संख्यामा आवेदन दर्ता भएको हो।
अध्यक्ष छनोटका लागि गठित समितिले वैशाख १५ गते सूचना प्रकाशित गर्दै वैशाख २१ गते कार्यालय समयभित्र आवेदन दिन आह्वान गरेको थियो। सोहीअनुसार सोमबार साँझ ५ बजेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो।
आवेदकमध्ये बोर्डका बहालवाला तथा पूर्व कर्मचारी, पूर्व मर्चेन्ट बैंकर र वित्तीय क्षेत्रमा अनुभव हासिल गरेका विभिन्न व्यक्तिहरू रहेको स्रोतले जनाएको छ। प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि समितिले अन्तिम पाँच जनाको नाम सिफारिस गर्नेछ, जसको आधारमा अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्नेछ।
यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. गुणाकर भट्ट को संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो। समितिमा घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन्।

