विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले यसअघि सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत घुस तथा कमिशन लिएको कसुरमा दोषी ठहर गरेको थियो। सजाय निर्धारण गर्दै अदालतले उनलाई ४ वर्ष कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।
अदालतका अनुसार सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिशनबापत प्राप्त गरेको ३८ लाख ५० हजार १३९ रुपैयाँलाई भ्रष्टाचारको बिगो कायम गरेको छ। सोही रकम बराबरको जरिवाना तोक्नुका साथै उक्त रकम जफत गर्न पनि आदेश दिएको छ।
वारदातका बेला सिंह महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित मधेश प्रदेशसभा सदस्य रहेकाले भ्रष्टाचार निवारण ऐनको दफा २४ अनुसार थप सजायसमेत निर्धारण गरिएको अदालतले जनाएको छ। उक्त व्यवस्थाअनुसार उनलाई थप १ महिना कैद सजाय सुनाइएको हो।
यससँगै अदालतले जरिवानाको आधारमा १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्नसमेत आदेश दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न उपभोक्ता समितिहरूबाट कमिशन लिएको आरोपमा सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले आयोगले प्रस्तुत गरेको दाबी र प्रमाणलाई पुष्टि गर्दै सिंहलाई दोषी ठहर गरेको हो।

