होमपेज > सार्वजनिक यातायातमा आधुनिकीकरण : महानगरले थप्यो १६ विद्युतीय बस

सार्वजनिक यातायातमा आधुनिकीकरण : महानगरले थप्यो १६ विद्युतीय बस

बिज्ञापन

महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार ३३ सिट क्षमताका नयाँ बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि समेत सहज हुने गरी डिजाइन गरिएको छ। एक पटकमा करिब ७० यात्रु बोक्न सक्ने यी बसहरूमा आरामदायी सिट, आधुनिक सुरक्षा प्रणाली तथा यात्रुमैत्री संरचना जडान गरिएको छ।

शशिला मोटर्स प्रा.लि.ले चीनबाट आयात गरेका बसहरूमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री प्रयोग गरिएको छ। पूर्ण चार्जपछि करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने यी बसहरूको प्रतियुनिट मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायातका सचिव केशव नेपालले विद्युतीय सवारी अब अपरिहार्य विकल्प बन्दै गएको उल्लेख गर्दै कम्पनीले आगामी दिनमा यस क्षेत्रको विस्तारलाई प्राथमिकता दिने बताए। प्रारम्भिक लगानी उच्च भए पनि विद्युतीय बस व्यवसायिक रूपमा लाभदायक र आम्दानीका हिसाबले प्रभावकारी रहेको उनको भनाइ थियो। उनले अन्य यातायात व्यवसायीलाई पनि विद्युतीय सवारीतर्फ आकर्षित हुन आग्रह गरे।

त्यस्तै, सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि सञ्चालनमा रहेका १२ वटा विद्युतीय बसले सकारात्मक परिणाम दिएको र त्यसकै निरन्तरतास्वरूप थप १६ बस थपिएको जानकारी दिए। उनका अनुसार सञ्चालन खर्च कम र प्राविधिक व्यवस्थापन सहज भएकाले विद्युतीय बसबाट डिजेल बसको तुलनामा झण्डै चार गुणासम्म बढी आम्दानी भइरहेको छ।

बस हस्तान्तरण कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले ठूलो आकारका विद्युतीय बसहरूको प्रवर्द्धन समयको आवश्यकता भएको बताए। उनले यस्ता बसहरूले यात्रु सेवा सुधार गर्नुका साथै देशको सार्वजनिक यातायात प्रणालीलाई दिगो र आधुनिक बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

हाल महानगर यातायात प्रा.लि.ले काठमाडौं उपत्यका तथा बाहिर गरी १४० भन्दा बढी सवारीमार्फत सेवा दिइरहेको छ। कम्पनीका अनुसार २८ वटा सिटी बस र २४ वटा माइक्रोबससहित हाल ५२ वटा विद्युतीय सवारी सञ्चालनमा रहेका छन्। नयाँ बस थपिएसँगै कम्पनीको विद्युतीय सवारी बेडा अझ सुदृढ बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  2. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  3. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  4. १३ राजदूतका लागि ३ हजार आवेदन
  5. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  6. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  7. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  8. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  9. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  10. १० मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  11. ११ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  12. १२ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  13. १३ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  14. १४ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  15. १५ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो