गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीबाट क्षतिग्रस्त बनेको रसुवागढी जलविद्युत् आयोजना मर्मत तथा पुनर्स्थापना कार्यपछि पुनः सञ्चालनमा आएको छ ।
१११ मेगावाट क्षमताको आयोजनाका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन, मुहानको ड्याम तथा नहरको मर्मत सम्पन्न भएसँगै ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ ।
रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वका अनुसार मर्मतपश्चात गत मङ्सिर महिनामा ३७ मेगावाट र हालै थप ३१ मेगावाट गरी हाल ६८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । बाँकी सफाइ तथा मर्मतको काम पूरा भएपछि आयोजनाको पूर्ण क्षमताअनुसार थप ४३ मेगावाट आगामी जेठ–असारसम्म राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्य लिइएको छ ।
केन्द्रका अनुसार हाल पानीको प्रवाह घट्न थालेकाले सुक्खायाममा विद्युत् उत्पादन केही घट्नेछ । गत असारको बाढीले आयोजनाका उपकरण तथा संरचनामा ठूलो क्षति पुर्याउँदा करिब ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको थियो ।
मर्मत सम्पन्न भएसँगै रसुवागढी आयोजना पुनः सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् आपूर्तिमा उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

