बेलायतको लन्डनस्थित हिथ्रो विमानस्थल नजिक मोटरसाइकल दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ। हिथ्रो विमानस्थलको टर्मिनल–४ नजिकै साउदर्न पेरिमिटर रोडमा भएको दुर्घटनामा ४० वर्षीय रोशन अधिकारीको ज्यान गएको हो।
बुधबार बिहान करिब ८ बजे मोटरसाइकल चलाइरहेका अधिकारी सडकछेउमा रहेको ब्यारिएरमा ठोक्किँदा गम्भीर घाइते भएका थिए। घटनास्थलमा पुगेको एम्बुलेन्स टोलीले तत्काल उद्धार प्रयास गरे पनि उनलाई मृत घोषणा गरिएको थियो।
काठमाडौंको कलंकी घर भएका अधिकारी पछिल्लो १२ वर्षदेखि बेलायतमा बस्दै आएका थिए। उनी लन्डनको फेल्थाम क्षेत्रमा परिवारसँग बसोबास गर्दै आएका थिए। अधिकारीका श्रीमती, एक छोरा र दुई छोरी छन् भने उनका बाबुआमा नेपालमै रहेका छन्।
पारिवारिक स्रोतका अनुसार स्वर्गीय अधिकारीको अन्त्येष्टि आगामी फेब्रुअरी १६ तारिखका दिन लन्डनको फेल्थाममै गर्ने तयारी गरिएको छ। विदेशमा रोजगारी तथा बसोबासका क्रममा रहेका नेपाली समुदायमा अधिकारीको निधनले गहिरो शोक छाएको छ।

