विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायलाई व्यवसाय, सेवा, रोजगारी, कला, संस्कृति तथा आपसी सहकार्यका माध्यमबाट जोड्ने उद्देश्यले ‘ग्लोबल नेपाली कम्युनिटी मार्केटप्लेस’ नेप्लिफाइ (Neplify) सञ्चालनमा आएको छ।
क्यानडाको टोरन्टोमा कार्यालय रहेको नेप्लिफाइले विश्वभरका नेपाली व्यवसाय, सेवा, उत्पादन तथा विभिन्न अवसरसम्बन्धी जानकारीलाई एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध गराउने लक्ष्य राखेको छ। ‘One Nation. Global Connection.’ नारासहित अघि बढेको नेप्लिफाइले आगामी दिनमा अन्य देशमा समेत आफ्नो पहुँच विस्तार गर्ने योजना बनाएको जनाएको छ।
व्यवसायदेखि रोजगारी र आवाससम्मको जानकारी
नेप्लिफाइमा नेपाली समुदायसँग सम्बन्धित विभिन्न व्यवसाय तथा सेवाको जानकारी खोज्न तथा आफ्ना व्यवसाय र सेवाको विवरण सार्वजनिक गर्न सकिने व्यवस्था गरिएको छ।
प्लेटफर्ममा कार्यक्रम (Events), खाना तथा रेस्टुरेन्ट (Food & Restaurants), उत्पादन (Products), सेवा (Services), उपहार (Gifts), रोजगारी तथा इन्टर्नसिप (Jobs & Internships) र आवास (Accommodations) लगायतका श्रेणी राखिएका छन्।
नेपालमा रहेका व्यवसाय तथा सेवा प्रदायकले विदेशमा रहेका नेपाली समुदायसम्म आफ्ना उत्पादन र सेवाको जानकारी पुर्याउन नेप्लिफाइ प्रयोग गर्न सक्छन्। त्यस्तै, विदेशमा रहेका नेपालीले आफू बसेको स्थान वा अन्य सहरमा उपलब्ध नेपाली व्यवसाय, सेवा, कार्यक्रम, रोजगारी तथा आवाससम्बन्धी जानकारी खोज्न सक्नेछन्।
हाल नेप्लिफाइमा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि निःशुल्क असीमित लिस्टिङ (Free Unlimited Listing) प्रकाशित गर्न सकिने व्यवस्था गरिएको छ।
वेबसाइट र मोबाइल एपबाट सेवा
नेप्लिफाइको वेबसाइट तथा मोबाइल एपमार्फत खाता (Account) बनाएर सेवा प्रयोग गर्न सकिन्छ। खाता बनाएपछि प्रयोगकर्ताले आफ्नो प्रोफाइल पूरा गरी विभिन्न लिस्टिङ हेर्न, आवश्यक जानकारी खोज्न तथा आफ्ना उत्पादन, सेवा वा कार्यक्रमको विवरण प्रकाशित गर्न सक्छन्।
कुनै व्यवसाय वा सेवाबारे थप जानकारी आवश्यक परेमा लिस्टिङमा उपलब्ध फोन नम्बरमार्फत सम्बन्धित व्यक्ति वा व्यवसायसँग सम्पर्क गर्न सकिनेछ। मोबाइल एप प्रयोगकर्ताले नेप्लिफाइ च्याट (Neplify Chat) मार्फत समेत सम्बन्धित व्यक्ति वा व्यवसायसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन्।
क्यानडामा नेपाली समुदायको अनुभवबाट सुरु भएको अवधारणा
नेप्लिफाइका संस्थापक देवेन्द्र नेपाल हुन्। क्यानडा जानुअघि उनले नेपालमा करिब सात वर्ष सूचना प्रविधि (Information Technology) क्षेत्रमा उद्यमशीलताको अनुभव हासिल गरेका थिए।
सन् २०२३ मा क्यानडा पुगेपछि नेपाली कार्यक्रम, सेवा प्रदायक तथा समुदायसँग सम्बन्धित जानकारी खोज्दा आवश्यक सूचना एउटै स्थानमा सहज रूपमा उपलब्ध नभएको अनुभवले यस्तो डिजिटल प्लेटफर्मको आवश्यकता महसुस भएको नेप्लिफाइले जनाएको छ।
त्यसपछि नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपालीलाई एउटै डिजिटल मञ्चमा जोड्ने उद्देश्यले नेप्लिफाइ निर्माणको काम अघि बढाइएको हो।
नेपाली व्यवसाय र समुदायलाई जोड्ने लक्ष्य
नेप्लिफाइले नेपाली समुदायका सदस्यलाई आवश्यक जानकारी तथा अवसर सहज रूपमा उपलब्ध गराउने, नेपाली व्यवसायलाई आफ्नै समुदायसम्म पुग्ने थप डिजिटल माध्यम प्रदान गर्ने तथा विश्वभर रहेका नेपालीबीच सम्बन्ध र सहकार्यलाई बलियो बनाउने लक्ष्य लिएको छ।
नेपाली कला, संस्कृति र सामुदायिक गतिविधिलाई विश्वभरका नेपालीसम्म पुर्याउने तथा आपसी सहयोगका लागि डिजिटल माध्यम निर्माण गर्ने उद्देश्यसमेत प्लेटफर्मले राखेको जनाएको छ।
नेप्लिफाइ हाल वेबसाइट तथा मोबाइल एपमार्फत प्रयोग गर्न सकिन्छ। कम्पनीले आगामी दिनमा विभिन्न देशमा रहेका नेपाली समुदायसम्म आफ्नो पहुँच विस्तार गर्दै प्लेटफर्ममा थप सेवा तथा सुविधा जोड्दै लैजाने जनाएको छ।
प्रतिक्रिया दिनुहोस