स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा सोमबार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मेहताले मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताइन्।
“मानसिक स्वास्थ्यको विषय हाम्रो प्राथमिकतामा छ। मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिले उपचार र सहयोग खोज्दा अपमानित वा उपेक्षित महसुस गर्नुपर्ने अवस्थाको अन्त्य गर्नु हाम्रो लक्ष्य हो,” उनले भनिन्।
मन्त्री मेहताले प्रत्येक नागरिकले मानसिक स्वास्थ्यसम्बन्धी समस्या खुलेर व्यक्त गर्न सक्ने, समयमै आवश्यक सहयोग प्राप्त गर्ने र सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
उनले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन आवश्यक कानुनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गरिन्। मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्बाट पारित भइसकेकाले त्यसकै आधारमा ऐन निर्माणको प्रक्रिया अघि बढाइने उनले बताइन्।
मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिले उपचारका लागि भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्दै प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवासम्म सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिइन्।
मन्त्री मेहताले १०० शय्याभन्दा बढी क्षमताका अस्पतालमा मानसिक स्वास्थ्य सेवाका लागि आवश्यक शय्या छुट्याउने र सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्।
सरकारले मानसिक स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउँदै उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्याप्रतिको विभेद र उपेक्षा अन्त्य गर्ने लक्ष्य लिएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस