२०८३, कार्तिक २१ गते

आज र भोलि देशभका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

मंगलवार , कार्तिक १७, २०८३

सरकारले आज र भोलि दुई दिन देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानमार्फत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।

उनले अभिभावकलाई आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्र वा स्वास्थ्य संस्थामा लगेर निर्धारित औषधि खुवाउन आग्रह गरेका छन्।कार्यक्रम सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको थापाले जानकारी दिए।

सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ। बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुँदै आएको हो।

नेपालमा वि.सं. २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र वि.सं.२०५६ देखि जुकाको औषधि नियमित रूपमा खुवाउन थालिएको हो। सरकारले बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images