रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.४३ गुणाले बढेको छ ।
कम्पनीले समीक्षा अवधिमा ३० करोड ४८ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ६ करोड ८८ लाख ९० हजार रुपैयाँ मात्रै थियो ।त्यस्तै, कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ६२ रुपैयाँ ९७ पैसा पुगेको छ । गत आर्थिक वर्षमा वार्षिकीकरण गरिएको ईपीएस ४२ रुपैयाँ ९८ पैसा रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ । पहिलो त्रैमासमा कम्पनीले तीन अर्ब २० करोड २९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी दुई अर्ब ४८ करोड ७१ लाख रुपैयाँ रहेको थियो । यसअनुसार कम्पनीको सञ्चालन आम्दानी करिब २९ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको सञ्चालन नाफामा पनि उल्लेख्य सुधार देखिएको छ । पहिलो त्रैमासमा सञ्चालन नाफा ४० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १६ करोड ९१ लाख रुपैयाँ मात्रै थियो ।बिक्री तथा सञ्चालन आम्दानीमा भएको वृद्धिले कम्पनीको समग्र नाफा बढाउन योगदान पुर्याएको देखिन्छ ।
यसैबीच, कम्पनीले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको एक अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गरिएको हो ।
नेपालकै ठूलो रोजगारदातामध्ये एक तथा निर्यातमुखी धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ मिल्स गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो । कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस