विद्यार्थीमा पर्यटन शिक्षा, नेतृत्व विकास तथा दिगो पर्यटन प्रवर्द्धनसम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गैँडाकोटमा आयोजित राष्ट्रिय दिगो पर्यटन क्लब (एनएसटीसी) को गण्डकी प्रदेशस्तरीय दुईदिने कार्यक्रम सम्पन्न भएको छ ।
कात्तिक १९ र २० गते होटल इल्ला कम्फर्टमा आयोजित कार्यक्रममा १० विद्यालय तथा कलेजका प्रधानाध्यापक, शिक्षक, क्लब संयोजक र विद्यार्थी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी तथा शिक्षा इकाइका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।
टीआरटीआई, नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजना (एसटीपी)रयूएनडीपीको साझेदारीमा जीटीटीपी नेपाल तथा गैँडाकोट नगरपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा क्लब सञ्चालन, विद्यार्थी नेतृत्व विकास, दिगो पर्यटन, गन्तव्य प्रवर्द्धन तथा पर्यटन क्षेत्रमा युवाका अवसरबारे तालिम र अन्तरक्रिया गरिएको थियो । जीटीटीपी नेपालका निर्देशक तथा टीआरटीआईका अध्यक्ष मदनकुमार बराल र पर्यटन प्रशिक्षक प्रेमकुमार दनुवारले सहजीकरण गरेका थिए ।
त्यसैगरी, ‘माई टुरिजम जर्नी’ सत्रमा पर्यटन विज्ञ डा। रामजी शर्मा, एनटीएचएमसीका प्रिन्सिपल प्रकाश रेग्मी र होटल इल्ला कम्फर्टका महाप्रबन्धक प्रदीप न्यौपानेले पर्यटन क्षेत्रका सम्भावना, अवसर र चुनौतीबारे विद्यार्थीलाई जानकारी गराएका थिए ।कार्यक्रमकै अवसरमा गैँडाकोट इङ्लिस स्कुलमा देशको १५८औँ राष्ट्रिय दिगो पर्यटन क्लब गठन गरिएको छ । सहभागीहरूले मौलाकालिका मन्दिर र होटल इल्ला कम्फर्टको स्थलगत अवलोकनसमेत गरेका थिए ।
कार्यक्रमको अन्तिम सत्रमा एनएसटीसी गण्डकी रोडम्याप २०२७ तयार गर्नुका साथै गण्डकी घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमा क्लबहरूको नियमित सञ्चालन, संस्थागत सहकार्य, विद्यार्थी नेतृत्व विकास र समुदायमा आधारित दिगो पर्यटनलाई प्राथमिकता दिइएको छ । कार्यक्रम निर्देशक सरोज प्याकुरेलका अनुसार गण्डकी प्रदेशका अन्य क्लबलाई समेत समेटेर आगामी दिनमा पोखरा वा अर्जुनचौपारी गाउँपालिकामा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ ।
एनएसटीसी अभियानले युवालाई पर्यटन, वातावरण तथा सम्पदा संरक्षण र स्थानीय गन्तव्य प्रवर्द्धनमा सक्रिय सहभागी गराउँदै जिम्मेवार पर्यटनका अभियन्ताका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस