लामो समयदेखि बन्द अवस्थामा रहेको नेपालको ऐतिहासिक उद्योग विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहको पहलमा मिल सञ्चालनका लागि रणनीतिक लगानीकर्ता छनोट गर्न आशयपत्र आह्वान गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नीतिगत सहजीकरणमा विराटनगर जुट मिल लिमिटेडले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत उद्योग सञ्चालन गर्ने उद्देश्यसहित स्वदेशी तथा विदेशी लगानीकर्तासँग आशयपत्र माग गरेको छ । मिलको पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि अनुभवी तथा आर्थिक रूपमा सबल लगानीकर्तालाई ३५ दिनभित्र आशयपत्र पेस गर्न आग्रह गरिएको छ ।
मन्त्री साहले आफू मन्त्री बनेको तीन महिनाभित्रै ऐतिहासिक जुट मिल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार लगानीकर्ता खोज्ने प्रक्रिया अघि बढाइएको उनको सचिवालयले जनाएको छ ।
प्रस्तावित योजनाअनुसार मिल पुनः सञ्चालनमा आएपछि दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य राखिएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा पाँच हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । यसबाट स्वदेशमै रोजगारी सिर्जना हुनुका साथै जुट उत्पादन र निर्यात प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
लगानीकर्तालाई विराटनगर र दमकमा रहेको मिलको ६७ बिघा औद्योगिक जग्गा ३५ वर्षसम्मको दीर्घकालीन लिज वा साझेदारी अवधारणामा उपलब्ध गराइनेछ । त्यस्तै, नयाँ लगानीकर्तालाई आकर्षित गर्न मिलका पुराना वित्तीय, प्रशासनिक तथा श्रमसम्बन्धी दायित्व व्यवस्थापनमा नेपाल सरकारको सहयोग रहने व्यवस्था गरिएको छ । यसले नयाँ लगानीकर्तालाई विगतका ऋण तथा दायित्वको भारबाट अलग राख्ने उद्देश्य लिएको छ ।
त्यसैगरी, लगानीकर्ताले औद्योगिक व्यवसाय ऐन, २०७६ तथा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार मेसिनरी आयातमा भन्सार सहुलियत, लाभांश फिर्ता लैजाने सुविधा र सुरुवाती वर्षमा लिज भाडामा सहुलियत प्राप्त गर्न सक्नेछन् ।
सन् १९३६ अर्थात् विसं १९९३ मा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो आधुनिक उद्योगका रूपमा परिचित छ । राजनीतिक अस्थिरता, व्यवस्थापकीय कमजोरी तथा आर्थिक समस्याका कारण यो उद्योग पटक–पटक बन्द हुँदै आएको थियो ।
सरकारले बन्द अवस्थामा रहेका सार्वजनिक उद्योगहरूको पुनरुत्थानलाई प्राथमिकतामा राख्दै जुट मिल सञ्चालनको प्रक्रिया अघि बढाएको जनाएको छ । आशयपत्र पेस गर्ने समय सकिएको एक महिनाभित्र योग्य रणनीतिक लगानीकर्ता छनोट गरी समझदारीपत्रमा हस्ताक्षर गर्ने र त्यसपछि उद्योग सञ्चालनको कामलाई तीव्रता दिने मन्त्रालयको योजना छ ।
प्रतिक्रिया दिनुहोस