होमपेज > कीर्तिपुरको होल्डिङ सेन्टरमा मध्यराति बाढी पस्दा सुकुम्बासीको बिचल्ली

कीर्तिपुरको होल्डिङ सेन्टरमा मध्यराति बाढी पस्दा सुकुम्बासीको बिचल्ली

‘१५ दिनको आश्वासन तीन महिनासम्म पूरा भएन’

बिज्ञापन

काठमाडौं महानगरपालिकाबाट हटाइएका सुकुम्बासी परिवारलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा शनिबार मध्यराति बाढी पसेपछि त्यहाँ आश्रित परिवारको जनजीवन अस्तव्यस्त बनेको छ। पीडितहरूले सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि तीन महिना बितिसक्दा समेत कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

पीडितहरूका अनुसार राति करिब १२ः४० बजेदेखि सेन्टरमा पानी पस्न सुरु भएको थियो। अचानक बाढी पसेपछि बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अन्य परिवारले रातभर त्रासमा बिताउनुपरेको थियो।

पीडित दलमर्दन कामीले सरकारले उचित व्यवस्थापन गर्नुको सट्टा सामान्य राहत वितरणमै सीमित रहेको आरोप लगाए। उनले आफूहरूलाई पुरानो बसोबास क्षेत्रमा समेत जान नदिइएको गुनासो गर्दै बाढीका कारण रातभर जाग्राम बस्नुपरेको बताए।

“यहाँ मुटु, मिर्गौला र दमका बिरामी छन्। आफन्तलाई भेट्नसमेत सहज छैन। सरकारले हामीलाई अलपत्र पारेको छ,” उनले भने।

स्थानीय कान्छीमाया घलानले सुतिरहेको अवस्थामा पानी पसेपछि छाता र मोबाइलबाहेक अन्य सामान जोगाउन नसकेको बताइन्। उनका अनुसार ओढ्ने–ओछ्याउने, लत्ताकपडा र खाद्यान्नलगायत अधिकांश सामग्री बाढीले नष्ट गरेको छ।

“१५ दिनका लागि भनेर घर भत्काएर यहाँ ल्याइयो। तर तीन महिना बितिसक्दा पनि कुनै स्थायी व्यवस्था भएन। हामीलाई पनि सम्मानपूर्वक बाँच्ने अधिकार छ,” उनले भनिन्।

अन्य पीडितहरूले पनि सरकारले आफूहरूलाई असुरक्षित स्थानमा राखेको, समयमा उद्धार तथा व्यवस्थापन नगरेको र वर्षायाममा थप जोखिममा पारिएको आरोप लगाए। उनीहरूले तत्काल सुरक्षित आवास, क्षतिपूर्ति तथा दीर्घकालीन पुनःस्थापनाको माग गरेका छन्।

पीडित डम्बर तामाङका अनुसार बाढीका कारण करिब एक लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। “सामान निकाल्ने समयसमेत पाइएन। बालबालिका चप्पलसमेत बिना हिँड्न बाध्य छन्,” उनले बताए।

पीडितहरूका अनुसार होल्डिङ सेन्टरमा मुटु, मिर्गौला र दमका बिरामीसमेत रहेकाले चिसो र ओसिलो वातावरणका कारण उनीहरूको स्वास्थ्यमा थप जोखिम बढेको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजश्वीराज थापाले व्यवस्थापनमा केही प्राविधिक कमजोरी भएको स्वीकार गरेका छन्। उनले प्रभावित परिवारका लागि खाना, ओछ्यान, ब्ल्याङ्केट तथा स्वास्थ्य सेवाको व्यवस्था भइरहेको जानकारी दिँदै दीर्घकालीन पुनःस्थापनाका लागि उपयुक्त स्थानको खोजी भइरहेको बताए।

“बाढीले समस्या निम्त्याएको सत्य हो। यसको जिम्मेवारी राज्यले लिनुपर्छ। अहिले तत्काल आधारभूत आवश्यकता पूरा गर्ने र दीर्घकालीन व्यवस्थापनको उपाय खोज्ने काम भइरहेको छ,” उनले भने।

वर्षायाममा असुरक्षित अवस्थामा बस्न बाध्य सुकुम्बासी परिवारहरूले तत्काल सुरक्षित आवास, क्षतिको उचित क्षतिपूर्ति र स्थायी पुनःस्थापनाको माग गरेका छन्। उनीहरूले सरकारले शीघ्र समाधान नखोजे समस्या थप गम्भीर बन्ने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा