प्रधान सेनापति अशोकराज सिग्देलले उद्घाटन गर्दै नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ शुरु भएको छ । आइतबार जङ्गी अड्डामा आयोजित विशेष समारोहबीच उनले प्रदर्शनीको उद्घाटन गरेका हुन् ।
आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधि, भूमिका र योगदानबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीको उद्घाटन समारोहमा प्रधान सेनापतिले नेपाली सेना फोटो प्रतियोगिता–२०८२ अन्तर्गत उत्कृष्ट तीन जना गैरसैनिक फोटोग्राफर, तीन वटा नेपाली सेनाका युनिट तथा जनसम्पर्क तथा सूचना निर्देशनालयका एक जना फोटोग्राफरलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरे । साथै, प्रतियोगिताको मूल्याङ्कन समितिका सदस्यहरूलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमपछि प्रधान सेनापति तथा अन्य अतिथिहरूले प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालय, राष्ट्रिय सेवा दललगायत नेपाली सेनाका विविध गतिविधि समेटिएका ३१ वटा स्टल राखिएका छन् ।

सेना दिवस–२०८२ को अवसरमा आयोजना गरिएको यो प्रदर्शनी माघ ७ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी अवलोकनका लागि जङ्गी अड्डाको पश्चिम गेटबाट आम नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।


